शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं  – पछिल्लो समय ढाड दुख्ने समस्या भएका बिरामीको संख्या बढ्दो छ । लगभग ८० प्रतिशत मानिसमा ढाड दुख्ने समस्या हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन् । कहिलेकाहीँ दुखाइ वा असहज महसुस हुँदा ढाडमा केही समस्या भएको बुझ्न सकिन्छ । सबैभन्दा बढी ३४ देखि ५० वर्ष उमेर समूहका मानिसमा ढाड दुखाइको समस्या देखा पर्ने गर्दछ । अस्पतालमा सानो बच्चादेखि वृद्धसम्मका मानिस ढाडको समस्या लिएर आउने गर्छन् । ढाड दुख्ने समस्या आउनुका कारण निम्न छन् :

अव्यवस्थित जीवनशैली, खानपिन, शारीरिक मुभमेन्ट नमिल्नु, बसाइ नमिल्नु आदि कारणले ढाड दुख्ने समस्या हुन सक्छ । धेरै गह्रुँगो काम गर्दा, धेरै काम गर्दा, लामो समयमा एकै ठाउँमा बस्दा, कुर्सीमा लामो समय बसिरहँदा ढाड दुख्ने समस्या हुन्छ ।

हड्डी, ढाडको नसामा समस्या आउँदा ढाड दुख्ने हुन्छ । लिगामेन्टमा हुने समस्या, स्पाइनल कर्डमा आउने समस्याका कारण पनि ढाड दुख्ने हुन सक्छ ।

पेटमा हुने समस्या, दिसापिसाबमा हुने इन्फेक्सन आदिका कारण पनि ढाड दुख्ने हुन्छ । तौल बढेको मान्छेमा, मधुमेह रोगीहरूमा, मोटोपना, तनाव, गर्भवती महिला, डिप्रेसन, स्पाइनको क्यान्सर, किड्नीको इन्फेक्सन आदिको कारण ढाड दुख्ने हुन्छ ।

वृद्धावस्थाका मानिसमा ढाडको हड्डी खिइने, हड्डी पातलो हुने कारण ढाडमा समस्या देखा पर्छ । महिनावारी सुकेका महिला, कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्नेहरूमा ढाड दुख्ने समस्या देखिने गरेको छ ।

उपचार
मेरुदण्डमा समस्या भएको, नसा च्यापिएको, मासु च्यापिएको, डिस्क निस्केकोजस्ता समस्या एक्सरे, सिटी स्क्यान, एमआरआईबाट थाहा हुन्छ । बोन स्क्यान गर्दा पनि हड्डीमा भएको स–साना समस्या थाहा पाउन सकिन्छ ।

पिसाब, दिसा र रगतको जाँचबाट पनि मेरुदण्डमा हुने समस्या थाहा पाउन सकिन्छ ।

सामान्य समस्या छ भने थेरापी गर्दा पनि दुखाइ कम हुन्छ । दुई हप्ताजति घरमा आराम गर्दा, दुखेको ठाउँमा आइस प्याक राख्ने गर्दा पनि दुखाइ कम हुन्छ ।

मेरुदण्डमा दुई किसिमको दुखाइ हुन्छ– ‘एक्युट पेन’ र ‘चोर्निक पेन’ । एक्युट पेन तीन महिनापछि आफैँ सन्चो हुन्छ । चोर्निक पेन तीन महिनाभन्दा बढी हुन सक्छ । यो दुखाइ अलि खतरनाक हुन सक्छ ।

शारीरिक व्यायाम गर्दा, अल्ट्रासाउन्ड थेरापी गर्दा पनि दुखाइ कम हुन्छ । धेरै दुखाइ छ भने इन्जेक्सन लगाएर केही समयका लागि दुखाइ कम गर्न सकिन्छ । यसले ३ देखि ६ महिनासम्म काम गर्छ । यो इन्जेक्सन ढाडमा लगाइन्छ । नसाहरू धेरै च्यापिएको छ भने सर्जरी गर्नुपर्ने हुन सक्छ । डिस्क निस्केर दुखाइ भएको हो भने आर्टिफिसियल डिस्क हाल्न सकिन्छ ।

लामो समयसम्म बस्नुपरेमा वेलावेलामा उठेर केही बेर हिँडडुल गर्ने गर्नुपर्छ । एक घन्टा लगातार कुर्सीमा बस्यो भने ५ मिनेट यताउति गर्नुपर्छ ।

अगाडि धेरै झुकेर काम गर्नेहरूमा पनि ढाड दुख्ने समस्या हुन सक्छ । त्यसैले निहुरिएर केही काम गर्नुपरे अथवा सामान उठाउनुपरे बिस्तारै उठाउनुपर्छ ।

शरीरमा क्याल्सियमको कमी भयो भने पनि ढाड दुख्छ । त्यसैले क्याल्सियम भएका खानेकुरा (दूध र यसबाट बन्ने खानेकुरा) प्रशस्त खानुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया