शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – जाडो मौसम सुरु भएसँगै रुघाखोकीले सताउन थाल्छ । मौसम परिवर्तनसँगै रुघाखोकीको संक्रमण सुरु हुन्छ । खासगरी, नाकबाट पातलो सिँगान बग्नु, नाक बन्द हुनु, घाँटी खसखसाउनु आदि रुघाखोकीका मुख्य लक्षण हुन् ।

आजभोलि मौसममा आइरहेको परिवर्तनले स्वास्थ्यमा विभिन्न असर पारिरहेको हुन्छ । जसका कारण रुघा लाग्ने, ज्वरो आउनेलगायत समस्या भइरहेको छ । यसबाट यसरी बच्न सकिन्छ:

-रुघाखोकी मौसमी संक्रमण भएकाले सामान्य रूपमा लिन सकिन्छ । तर, यसको समयमै उपचार गर्न सकिएन भने ज्वरो, टाइफाइड, निमोनियाजस्ता जटिल रोग निम्त्याउने सम्भावना अत्यधिक रहन्छ ।

-मौसम परिवर्तनको समयमा इन्फ्लुएन्जाका कीटाणु सक्रिय हुने भएकाले विभिन्न समस्या देखा पर्न थाल्छन् । मौसमी रुघाखोकीले खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीलाई बढी सताउने गर्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।

-स्वस्थ व्यक्तिले जाडोयाममा लाग्ने रुघाखोकीबाट बच्न सामान्य घरेलु औषधि प्रयोग गर्न सक्छ । हाम्रै घरदैलोमा सजिलै उपलब्ध हुने अदुवा, तुलसी, बेसार, ज्वानो र तातो पानीजस्ता घरेलु औषधिको प्रयोगले सजिलै रुघाखोकीबाट मुक्ति पाउन सकिन्छ ।

-दूधमा बेसार मिलाएर सेवन गर्दा आराम मिल्छ । पानको पातमा मह र अदुवा राखेर दिनहुँ खाने गर्नाले पनि रुघाखोकी सन्चो हुन्छ ।

-लसुन उमालेको पानी खाने, तातो र नुनिलो पानीले कुल्ला गर्ने, बाफ लिने आदि सामान्य उपचार अपनाउँदा पनि राहत पाउन सकिन्छ ।

-रुघाखोकीको प्रत्यक्ष सम्बन्ध हाम्रो रोगप्रतिरोधक क्षमतासँग हुन्छ । तसर्थ, यस्ता घरेलु आयुर्वेदिक जडीबुटीले रोगप्रतिरोधक क्षमता बढाउन प्रत्यक्ष भूमिका खेल्छन् ।

-रुघाखोकीको संक्रमणबाट बच्न सकेसम्म भिडभाड, हुलमुलबाट टाढा रहनुपर्छ । संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखकाट निस्किने कीटाणुयुक्त पानीका कण हावाका माध्यमबाट वातावरणमा फैलिन्छ र श्वासप्रश्वासका माध्यमबाट अन्यमा संक्रमण हुने सम्भावना अत्यधिक रहन्छ ।

तसर्थ, बाहिर हिँड्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नु आवश्यक हुन्छ । यस्तै, बाहिरबाट घर आँउदा साबुनपानीले राम्ररी हातमुख धुनुपर्छ ।

तपाईको प्रतिक्रिया