बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – संगीतको सुमधुर धुनले प्रेक्ष्यालय गुञ्जायमान थियो । दर्शकहरुको उपस्थिति क्रमशः बाक्लिदै थियो । नेपाली पोशाक दौरासुरुवाल र ढाकाटोपीमा सजिएर मञ्चमा प्रस्तुत भएका उनले दर्शकहरुलाई भगवानको संज्ञा दिदैं शिर निहुराएर अभिवादन गरे र मञ्चमा पलेटी कसेर गाउन थाले । गाउँदै गए, गाउँदै गए, उनले देशको गीत गाए, माटोको गीत गाए, आमाको गीत गाए, भीरपाखाको गीत गाए, ज्यान परदेशमा भए पनि मन घरदेशमा भएको भाव बोकेको गीत गाए, गाउँबेसीको गीत गाए, समग्रमा राष्ट्रिय भावनाले ओतप्रोत भएको नेपाल र नेपालीको गीत गाए ।

त्यहाँ न कुनै नाच्नेहरुको तँछाड मछाडको भिड थियो, न त कुनै उच्छवास र उखरमाउलो कोलाहल नै थियो, थिए त शान्तसंग सुमधुर संगीतलाई नजिकबाट अनुभूत गर्ने दर्शकहरु । जापानमा पहिलोचोटी भएको नौलो प्रयोग लाइभ एकल साँझ कार्यक्रमको परिदृश्य थियो यो ।

सुखमा होस् वा दुखमा, स्वदेशमा होस् या विदेशमा जीवनका ऊर्जाशील समयको दुई दशकदेखि निरन्तर साँगीतिक क्षेत्रमा
खर्चिएका गायक तथा संगीतकार रामकृष्णबम मल्लको एकल साँझ मंगलबार टोकियोमा हुँदै गर्दा उनले भावुक हुँदै बर्षौ देखि पाल्दै आएको एकल साँझ गर्ने जीवनको एउटा ठूलो धोको पुरा गरिदिएकोमा दर्शकहरुलाई धन्यबाद दिए ।

‘एकल साँझ कार्यक्रम त्यो पनि अझ विदेशमा तपाईहरु जस्ता सहयोगी मन र जापानी मित्रहरुको सहकार्य नभएको भए यो संभव थिएन’ – गायक मल्लले भने – ‘यहाँहरुप्रति जीवनभरि कृतज्ञ रहनेछु ।’

स्वर सम्राट स्व. नारायण गोपालले कुनैबेला एउटा कार्यक्रममा भनेका थिए, ’गीत गाउनका लागि त गीतै गाउनुपर्छ ।’ हुन पनि एकल साँझ धेरै हिसाबले आफैमा चुनौतीपूर्ण कार्यक्रम थियो । गाउनका लागि गीत र दर्शक पाउनका लागि हिट हुनु आवश्यक थियो नै । महिनौको लगाव, धेरै मान्छेहरुको कडा मिहिनेत र एकोहोरो खटनपटनको परिणामस्वरुप नयाँ प्रयोगकारुपमा एकल साँझ जापानमा संभव भएको संयोजक डिपी कँडेलले बताए ।

एकल साँझमा गायक मल्लले करिव डेढ दर्जन जति गीत गाए । ती मध्य धेरैजसो जापानमै रहेका सर्जकहरुको गीत गाएर उनले साँगीतिक सिर्जनामा कलम चलाउन जुर्मुराएकाहरुलाई प्रोत्साहित गरे । ती सर्जकहरुमा केशव पौडेल, रविन शर्मा, लक्ष्मण कार्की, दिप पाठक, अरुण पौडेल, पिताम्बर चापागाँई, युवराज आचार्य लगायतका थिए, जो जापानमै छन । कार्यक्रममा गायक मल्लले सालैजो, यानीमाया, ठाडोभाका जस्ता मौलिक लोकलयमा आधारित गीतहरु पनि गाएर गाउँबेसी र रनबनको झझल्को दिलाए ।

कार्यक्रममा फरक फरक भूगोल, भाषा, सँस्कृति र सामाजिक परिवेश भएका जापानी संगीतकारहरुसंग नेपाली संगीतकर्मीहरुको कलात्मक साँगीतिक समायोजन र तादाम्यता सबैभन्दा सुन्दर पक्ष रहेको दर्शकहरुको प्रतिक्रिया थियो । गायक मल्ललाई गायिकाद्वय सोना केसी र सीता पुनले साथ दिएका थिए भने जापानी गायिकाद्वय आओइ सानो र एरि खावामुराले जापानी गीत गाएर संगीतको माध्यमबाट पनि दुई देशबीचको सम्बन्धलाई अझ कसिलो बनाउन सकिने उदघोष गरे। नयाँ इतिहास
बिना बाद्यबादन साँगीतिक कार्यक्रम गर्ने होडबाजी चलेको आजको नेपाली समाजमा बाजागाजाहरुको उचित संगीत संयोजनसहितको एकल साँझ कार्यक्रममा दर्शकहरुले पृथक खालको आनन्दानुभूति गरेको पाईयो । जापानको नेपाली समाजको साँगीतिक कार्यक्रमको इतिहासमा यसप्रकारको लाइभ एकल साँझ पहिलोचोटी सम्पन्न गरी गायक मल्लले नयाँ इतिहास रचेका छन् । यस कार्यक्रमले गायन क्षेत्रमा लागेका नयाँ पुस्तालाई थप मिहिनेत गर्न दबाब सहितको प्रोत्साहित पनि गरेको छ ।

एकल साँझको सन्देश
राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको कलाकार कल्याणकारी कोषको सहयोगार्थ एकल साँझ कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रम आयोजना गर्नका लागि जापानमा रहेर विभिन्न क्षेत्रको प्रतिनिधित्व गरेका ब्यक्तिहरु रहेको एक छुट्टै आयोजक समिति गठन गरिएको थियो । सो कार्यक्रमबाट मुलतः तीनवटा सन्देश दिन खोजिएको आयोजकको दावी छ । दशकौं साधनारत आफु संलग्न क्षेत्रको अनुभव, भोगाई र विज्ञताको एकमुष्ट संगालो एकैथलोमा प्रस्तुत गर्ने बिशेष पर्वकोरुपमा जुनसुकै क्षेत्रका प्रतिभावान मानिसले पनि यसप्रकारको कार्यक्रमका बारेमा सोच्न सक्नेछन् भने संगीतको माध्यमबाट देश देशान्तरका पृथक भूगोललाई पनि जोड्न सकिने रहेछ भन्ने अर्को सन्देश दिन खोजिएको छ । आयोजकका अनुसार अझ अर्को महत्वपूर्ण पक्ष भनेको प्रत्यक्ष सुनिन र बज्न छोडेका हाम्रा साँस्कृतिक धरोहरका प्रतिविम्व मानिने मौलिक बाजाहरु चाह्यौ भने जोहो गर्न सकिंदो रहेछ भन्ने दृष्टान्त एकल साँझले पुष्टी गरेको छ ।

एकल साँझका सारथीहरु
कार्यक्रमलाई वास्तवमै ‘एकल साँझ’ बनाउन वाद्यवादकहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको स्पष्ट देखिन्थ्यो । गितारमा शिगेयुकी कोनिता, बेस गितारमा तारो इरिए, कि बोर्डमा मासामी इशिहारा, पार्समा बुन्ता ताकामुरा, तबला/मादलमा ऋषि पौडेल, बाँसुरीमा खडक पुन, सारङ्गीमा मनु थापा र अक्टोप्याडमा भरत सुनार तैनाथ थिए भने सबै बाजाहरुको लिड गर्दै हार्मोनियममा स्वयम गायक मल्ल पलेटीमा थिए । कार्यक्रममा सहकार्य गरेका जापानी संगीतकर्मीहरुको लगाव हेर्दा नेपालप्रतिको प्रेमभाव छचल्किएको आभास हुन्थ्यो ।

विविधि क्षेत्रका प्रतिनिधिको आतिथ्यता
नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा भएको एकल साँझ साँगीतिक समारोहमा दर्जनौ बिशिष्ट ब्यक्तिहरुको आतिथ्यताले कार्यक्रमको गरिमा ह्वाट्टै बढाएको थियो । जापानस्थित नेपाली राजदूतावासका पूर्व कार्यवाहक राजदूत समेत रहीसकेका फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, नेपाल हाइकुकेन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाँडे, साहित्यकारहरु शिरोमणि दवाडी, अश्विनी कोइराला, किरण पौडेल, विजयराज आचार्य, तत्कालिन नेकपा माओबादी केन्द्रका बागलुङ जिल्ला संयोजक ज्ञाननाथ गैरे (अनिल), लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाका प्रतिनिधी गायिका रेबिका लामिछाने लगायतका जापान बाहिरबाट आएका ब्यक्तिहरुको बिशेष उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रममा माचुदो इन्टर्नेशनल एक्सचेञ्ज एसोशियशनका डाईरेक्टर योसीयुकी सिमानो, हारुहितो नोजु, डा. इतो युकी, फुरुहाता चुनेहिरो लगायतका नेपालप्रति गहिरो सद्भाव राख्ने नेपाली संगीतप्रेमी जापानीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा एनआरएन अभियान्ता, स्थानीय संघसंस्थाका प्रतिनिधी, ब्यवसायी, विद्यार्थी, बुद्धिजीवी, साहित्यकार, समाजसेवी तथा पत्रकारहरु लगायत विविध क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले संयुक्तरुपमा रिवन काटेर कार्यक्रमको उदघाटन गरिएको थियो । एकल साँझ आयोजक समितिका संयोजक डिपी कँडेलको सभपतित्वमा भएको सो साँगीतिक समारोह राष्ट्रियगानबाट सुरु गरिएको थियो । प्रमुख अतिथि दूतावासका उपनियोग प्रमुख अर्याल र बिशेष अतिथि प्रा. पाँडेको शुभकामना मन्तब्य रहेको सो कार्यक्रममा आयोजक समितिको तर्फबाट पत्रकार तिलक मल्लको स्वागत मन्तब्य रहेको थियो ।

विभिन्न ब्यवसायीहरुको प्रायोजनमा भएको सो कार्यक्रममा प्रमुख प्रायोजक दिप वे जापानका प्रमुख दिपक सुबेदीको हालै स्वर्गारोहण हुनुभएकी आमा गौरीदेवी सुवेदीको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण पनि गरिएको थियो । कार्यक्रम अनेसास जापानका सचिव समेत रहेका आयोजक समितिका सदस्य रविन शर्माले सञ्चालन गरेका थिए । कार्यक्रम मेगुरो कुमिन सेन्टरमा भएको हो ।***

तपाईको प्रतिक्रिया