बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

अस्ट्रेलिया – अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका मुलुकमा स्ट्रबेरीको मूल्यमा निकै ह्रास आएको छ । कयौं कम्पनीले यस्ता फल आयात तथा बिक्री बन्द गरेका छन् ।

केहीदिन यता अस्ट्रेलियामा स्ट्रबेरी, स्याउलगायतका फलभित्र सियो पाइएपछि जनजीवन आतंकित हुँदै गएको छ । सोही कारण अस्ट्रेलियाका कम्तीमा पाँच ठूला कम्पनीले आफ्ना ग्राहकलाई बेचेका स्ट्रबेरी फिर्ता लिने घोषणा गरेका छन् ।

न्यूजिल्याण्डका दुई कम्पनी काउन्टडाउन र फूडस्टफ्सले स्ट्रबेरी आयात बन्द गरिएको घोषणा गरेका छन् । अस्ट्रेलियाका विभिन्न सहरमा स्ट्रबेरीभित्र लुगा सिउने सियो पाइएको छ । स्ट्रबेरीभित्र सियोको टुक्रा रहेकै कारण एकजना अस्पतालमा भर्ना भएको जनाइएको छ ।

उक्त घटनालगत्तै कयौंले स्ट्रबेरीभित्र सियो पाइएको खुलासा गरेका छन् । अस्ट्रेलियाको एक टेलिभिजन च्यानलका अनुसार मंगलबार एक महिलाले आफ्ना छोरीलाई खुवाउन काटेको स्याउभित्र पनि सियो फेला परेको छ ।

गत शुक्रबार यस्ता तीन घटना प्रकाशमा आएको अस्ट्रेलियाको एबीसी च्यानलले जनाएको छ । अस्ट्रेलिया सरकारले यस्तो घटना कसरी भयो भन्नेबारेमा छानबिनका लागि आदेश दिएको छ । क्वीन्सल्याण्डको प्रान्तीय सरकारले यस्ता घटनामा संलग्नका बारेमा जानकारी दिने व्यक्तिलाई ठूलो रकमले पुरस्कृत गर्ने घोषणासमेत गरेको छ ।

सरकारले स्ट्रबेरी, स्याउजस्ता फल काटेरमात्र खान सर्वसाधारणलाई सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया