बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

इस्लामावाद – पाकिस्तान सरकारले ७० वटा आधुनिक कार बिक्री गरेको छ । सरकारी खर्च कटौतीको प्रयासस्वरुप सरकारले ती कार बेचेको हो ।

प्रधानमन्त्री कार्यालयमा रहेका अत्याधुनिक सुविधासम्पन्न कार लिलाम बिक्री गरिएको हो । प्रधानमन्त्री इमरान खानले यसअघि नै अनावश्यक सवारी साधन बिक्री गरेर राष्ट्रिय ढुकुटीमा रकम जम्मा गर्ने घोषणा गरेका थिए ।

वैदेशिक ऋणमा डुबेको पाकिस्तानका लागि इमरान खानले सरकारी खर्च कटौतीमा जोड दिँदै आएका छन् । सोही क्रममा उनले प्रधानमन्त्रीको सरकारी आवासमा समेत आफू नबस्ने घोषणा गर्दै तीन बेडरुम भएको एउटा सामान्य घरलाई आफ्नो सरकारी निवास बनाएका छन् ।

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीका अनुसार लिलामीका लागि १०२ वटा कार राखिएकोमा सोमबार ७० वटा कार बिक्री भएको हो । उनले बजारमूल्यभन्दा बढी दाममै ती कार बिक्री भएको बताए ।

प्रधानमन्त्री निवासमा रहेका केही भैंसीसमेत बेच्ने सरकारको योजना छ । नवाज शरीफको कार्यकालमा प्रधानमन्त्रीको सरकारी निवासमा पालिएका ८ भैंसी बेच्ने योजना वर्तमान सरकारले बनाएको हो ।

तपाईको प्रतिक्रिया