बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जेइनबीच आज महत्वपूर्ण भेटवार्ता हुँदैछ ।

उत्तरको राजधानी प्योङयाङमा हुने ३ दिने शिखर बैठकका लागि दक्षिणका राष्ट्रपति मुन प्योङयाङ  पुग्नुभएको छ । किमले राष्ट्रपति मूनलाई भव्य रुपमा स्वागत गर्नुभएको छ ।  बैठकमा दक्षिण कोरियाका उच्च स्तरीय व्यापारीहरू पनि सहभागी हुने छन् ।

प्योङयाङमा पहिलो पटक दुई नेताबीच भेट हुन लागेको भएपनि किम र मूनबीचको यो तेस्रो शिखर बैठक हो । यसअघि दुई कोरियाको सीमा क्षेत्रमा किम तथा मूनबीच शिखर बैठक भएको थियो । बैठकमा मूनले उत्तर कोरियालाई आर्थिक सहयोग प्रदान गर्दै उसका परमाणु कार्यक्रम अन्त्य गर्न प्रस्ताव गर्ने जनाइएको छ।

संयुक्त राष्ट्रसंघीय  लगायत अन्य प्रतिबन्धहरूको सामना गरिरहेको उत्तर कोरियाले समेत सो प्रस्ताव स्वीकार्ने सम्भावना उच्च रहेको आकंलन गरिएको छ । यद्यपी केही दक्षिण कोरियाली नेताहरुले भने तत्काल त्यस्तो प्रस्ताव नगर्न समेत सुझाएको बीबीसीले उल्लेख गरेको छ ।

प्योङ्याङलाई आर्थिक सहयोग प्रदान गरेर परमाणु निशस्त्रीकरणको प्रक्रियामा ठोस प्रगति हासिल गर्न अमेरिका समेत उत्साहित छ । गत अप्रिलमा एक दशकभन्दा बढी समयपछि उत्तर र दक्षिण कोरियाली नेताहरूबीच पहिलो पटक भेट भएको थियो र त्यसको एक महिनापछि दोस्रो पटक भेटवार्ता भएको थियो ।

यद्यपी सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भए पनि प्राविधिक रूपमा दुई कोरियाबीच प्राविधिक रुपमा अहिले पनि सौहाद्र्धपूर्ण सम्बन्ध बनिसकेको छैन ।

तपाईको प्रतिक्रिया