वर्षाैं पहिलेदेखि देशबाट दैनिक हजारौं युवाहरु विदेश पलायन हुने क्रम जारी छ । त्यो क्रम देश आमुल परिवर्तनका जति खोक्रा भाषण अथवा आंकलन गरे पनि दैनिक बढ्दो छ । उत्तिकै क्रममा देशमा दैनिक विदेशबाट मृत्यु हुने वैदेशिक रोजगारको लागि गएका श्रमिकहरुको शव पनि आर्इरहेको छ । देशमा उचित रोगगार ग्यारेन्टी र व्यवस्थापनको मुख्य समस्या युवाहरुको रोजाई वैदेशिक रोजगार बन्न पुगेको प्रष्ट देखिन्छ ।
यसैको एउटा स्वरूप म जन्मेको स्थान ‘गल्कोट’ मा पनि व्यापक देख्न पाइन्छ । गल्कोट भन्नेबित्तिकै वैदेशिक रेमिट्यान्स अत्याधिक भित्रिने स्थानमा पर्दछ । यहाँका अधिकांश युवाहरु विदेश छन् । खाडी मुलुक देखि एसिया अमेरिका युरोपका मुलुकहरुमा आफुलाई विभिन्न पेसा व्यवसायमा स्थापित गर्दै आएका छन् गल्कोटेहरुले ।
विदेशमा नेपालीहरुलाई समस्या पर्दा समाधान गर्न सजिलोसंगै आफ्नो स्थानमा सामाजिक रुपमा राम्रा कामहरु गर्ने उदेश्यले विभिन्न स्थान विशेषको नामबाट सामाजिक संस्थाहरु खोलिनु राम्रो रुपमा लिइन्छ । पछिल्लो दिनहरुमा हेर्दा त्यो व्यापक देखिन्छ । राम्रो हो तर स्वस्थ समाजसेवाले नेपालीहरुलाइ नै राम्रो गर्छ स्थान जहाँ कहाँकै किन नहोस । यसैको प्रक्रियाको खम्बा बन्दै सामाजिक रुपमा आफुलाई एक सक्रिय संस्थाको रुपमा स्थापित गराएको संस्था हो गल्कोट समाज ।
औपचारिक रुपमा अन्तर्राष्ट्रिय परिषद् घोषणा नगरिसकेको भएता पनि विभिन्न १४/१५ देशहरुमा सामाजिक काममा सक्रिय रहदै आएको छ गल्कोट समाज । आपसी भाइचारा, सदभाव अनि सम्बन्ध स्थापित गर्ने उद्देश्यले स्थापना भएता पनि पछिल्लो चरणमा समग्र गल्कोटको समृद्धिको लागि अथवा गल्कोटमा समृद्ध विकासको लागि हातेमालो गर्ने भरपुर ईच्छासक्ति बोकेका छन् प्रवासी गल्कोटेहरुले ।
आजको मितिसम्म गल्कोट समाज जापान, गल्कोट समाज युके, गल्कोट समाज अष्ट्रेलिया, गल्कोट समाज अमेरिका, गल्कोट समाज डेनमार्क, गल्कोट समाज स्पेन, गल्कोट समाज कतार, गल्कोट समाज युएइ, गल्कोट समाज हंगकंग, गल्कोट समाज मलेसिया (प्रक्रियामा), गल्कोट समाज कोरिया (प्रक्रियामा), गल्कोट समाज लक्जेम्बर्ग, गल्कोट समाज क्यानाडा (प्रक्रियामा) गल्कोट समाज काठमाडौं, गल्कोट समाज पोखरा, गल्कोट समाज गल्कोट, गल्कोट समाज चितवन, गल्कोट समाज बाग्लुङ जति देशमा गल्कोट समाज जापान संस्थागत छ, त्यहाँ नेपालीहरुलार्इ समस्या पर्दा हरेक समय अग्रस्थानमा समाज अग्रसर बनेर काम गरेको पाइन्छ ।
प्रसंग गल्कोट समाज जापानको
गल्कोटबाट विभिन्न उद्देश्यले जापानमा आएका गल्कोटेहरुलाई समेटेर २००६ सालमा गल्कोट समाज जापानको स्थापन भयो । जापानमा नै भए पनि २००६ सालमा अहिले जस्तो सजिलो थिएन, सामाजिक सन्जालहरुको प्रयोग शून्य थियो, फोन सम्पर्क पनि अहिले जस्तो बाक्लो हुदैन थियो ।सीमित साधन र स्रोतकाबीच २००६ सालमा गल्कोटेहरुलार्इ एक गर्न आइपरेका समस्या समाधान गर्न पनि गल्कोट समाज जापानको आवश्यकता छ भन्ने सोचका साथ यसको गठन भयो । गठन संगसंगै समाजले सामाजिक रुपमा आफुलाई स्थापित गराउदै लग्यो । जापानमा आफुलाई स्थापित गराउदै आफ्नो जन्मभूमिमा देखिरहेको स्वास्थको समस्यालार्इ हेर्दा त्यहाँका बिरामीले समयमा उपचार पाउन भन्ने हेतुले एम्बुलेन्स पठाउने काम समेत गल्कोट समाज जापान ले २००९/१० सालमा नै गरयो ।
२००६ सालदेखि गल्कोट समाज जापान २०१८ साल सम्म आउदा धेरै उल्लेखनीय कार्यहरु गरेको छ । गल्कोटमा विद्यालयलार्इ आर्थिक सहयोग गरयो, गल्कोटका सबै स्वास्थ केन्द्रहरुमा निःशुल्क स्वास्थ सामाग्री बाड्यो, गल्कोटस्तरिय निःशुल्क बृहत स्वास्थ शिविर गरयो (जसमा करिब ८३०० जनाले स्वास्थ लाभ लिए), स्वास्थ शिविरको नाम आउँदा डाक्टर जिवनको ठूलो भूमिका छ । उहाँलार्इ यहि लेख मार्फत पुनः हार्दिक धन्यवाद दिन चाहन्छु, सायद उहाँले त्यो सक्रियता नदेखाएको भए त्यो सम्भव थिएन ।
गल्कोटमा सुपथ मूल्यमा निम्न आय भएकालार्इ लक्षित गर्दै एम्बुलेन्स गुडायो जसले अहिले पनि गल्कोटे जनताको सेवा दिर्इरहेको छ । भूकम्प गयो, लाखौ रकम बोकेर गल्कोट समाज जापान प्रभावित क्षेत्रमा पुग्यो विभिन्न चरणमा ५० लाख भन्दा बढीको राहत बांडयो । बाढी गयो फेरी पनि राहत बोकेर बाढी प्रभावित क्षेत्रमा (कोही पुग्न नसकेको क्षेत्रमा) पुग्यो त्यहाँ राहत सामाग्रीसहित २ दिने निःशुल्क स्वास्थ शिविर सञ्चालन गरयो जसको लागि काठमाडौंबाट जनस्वास्थ बिशेषज्ञ डाक्टर रबिन्द्र पाण्डेले ठूलो योगदान गर्नुभयो ।
काठमाडौंबाट निःशुल्क सेवा दिन उहाँ हाम्रो रकमबाट औषधी किनेर बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो । जसमा हामीले राहत तथा शिविर गरी २० लाख जति खर्च गरयौं । संगै हाम्रो अर्को महत्वकांक्षी योजना गल्कोट समाज जापानले भूकम्प प्रभावित क्षेत्रमा एउटा विद्यालय भवन बनाउने थियो । सोहि अनुसार हामीले रामेछापमा विद्यालय भवन बनायौ जुन भर्खर हस्तान्तरण गरियो, त्यसको लागि करिब ३० लाख लागत लाग्यो । यसले गल्कोट समाज जापान गल्कोटेहरुको मात्र संस्था होइन भन्ने पुष्टि गरेको छ ।
यसैगरी हाम्रो गल्कोटको प्रमुख प्रवेशस्थल घोडाबांधेमा गल्कोट प्रवेश द्वार निर्माणाधिन छ जसको सम्पन्नको लागि हामीले करिब २५ लाख लागत छुट्याएका छौ । यसरी छोटो समयमा यति धेरै ठूला तथा देखिने कार्यहरु गरेको गल्कोट समाज जापानले जापानमा मृत्यु भएका नेपालीहरुको लागि, समस्या परेकाको लागि, नेपालमा समस्या परेका व्यक्तिहरुलार्इ समेत पटक पटक गरेर करोडौं रुपयाँ सहयोग नेपाल पठाउने साथै जापानमा खर्चिने कार्य गरेको छ । पछिल्लो समयमा हेर्ने हो भने समस्या पर्दा गल्कोट समाजलार्इ भन्नुपरयो भन्नेसम्म जापानमा एउटा छाप बनाएको छ ।
यो मानेमा जापानमा सामाजिक संस्थाहरु मध्ये नै काम आर्थिक रुपमा सबै भन्दा धेरै सक्रिय भएर काम गर्ने संस्थाको रुपमा गल्कोट समाज जापानले आफुलाई उभ्याएको छ (स्मरण रहोस जापानमा करिब १०० हाराहारिका) संस्थाहरु छन् । अंकमा नै भन्नुपर्दा गल्कोट समाज जापानले सामाजिक क्षेत्रमा स्थापना कालदेखि अहिलेसम्म करिब ८/१० करोडको लगानी गरेको छ अझ पनि त्यो क्रम तीव्र छ ।
सामाजिक रुपमा पवित्र तरिकाले काम गर्दै आइरहेको गल्कोट समाज जापानलार्इ जापानवासी नेपालीहरुको ठूलो साथ तथा समर्थन छ । जुन यसले गर्ने विभिन्न कार्यक्रमहरुमा प्रष्ट देखिन्छ । यसरी विगतका कार्यलार्इ हेर्दा सामाजिक रुपमा गल्कोट समाज जापानले चाहे नेपाल होस् चाहे जापान होस् आफुलाई अग्रपंतिमा राख्न सफल भएको छ ।
अबको गल्कोट समाज
अब गल्कोट समाज संगठित रुपमा नै ग्लोबलाइजेशन हुनु आवश्यक छ । अन्तर्राष्ट्रिय गल्कोट समाजको निर्माण अबको एक मात्र फराकिलो बाटो हुनेछ । यसो त यसको पहल नभएको होइन पहलकै क्रममा १४/१५ देशमा गल्कोट समाजले संस्थागत स्थान ओगटेको छ ।
अझ यसको द्रुत विस्तार र अन्तर्राष्ट्रिय गल्कोट समाजको निर्माण अबको एक मात्र विकल्प रहेको छ । बाहिर अन्य देशमा रहेका गल्कोटेहरुले यसको पहलकर्ता अनि समन्वयको लागि गल्कोट समाज जापानबाट ठूलो अपेक्षा गरेको बताईरहनु भएको छ । बारम्बार सार्वजनिक स्थानमा अन्य देशका गल्कोट समाजबाट आव्हान भईरहेको छ । अबको गल्कोट समाज जापानलार्इ यो ठूलो मुख्य चुनौती हो र हुने छ ।
खासगरी अब गल्कोट समाज सामाजिक कामलार्इ एक निरन्तरता दिदै, अब लगानी बोर्ड मार्फत सामुहिक लगानीमा जोड दिनुपर्छ पछिल्लो चरणमा आएको आवाज हो यो । वास्तवमा समृद्धिको नारा लगाएर होइन कार्यान्वयनमा जानु आवश्यक छ । सानो होस या ठूलो अब आफ्नो जन्मभूमिमा सुरुवाती गरिएन भए हामी बाँकि कुरामा नै सीमित हुने छौ । हो गल्कोट समाज विशुद्ध सामाजिक संस्था हो । यसमा कुनै दुई मत छैन तर अब सामाजिकसंगै पछिल्लो बदलिदो परिस्थितीसंग नजोडिने हो भने दिगो हुदैन ।
फेरी हामी समृद्ध गल्कोटको नारा लगाउछौ त्यसको लागि पृथक ढंगले सोच्नुपर्ने आवश्यक छ । यसो त गल्कोटको समृद्धिसंग प्रत्यक्ष आफुलाई जोड्न चाहन्छन् गल्कोटेहरु । यो क्रम बढ्दो छ, गल्कोटमा पनि बजार बढ्दो छ उत्पादनलार्इ जोड दिन सकियो भने पनि ठूलो सम्भावना देखिन्छ । नेपालमा पछिल्लो चरणमा विभिन्न क्षेत्रबाट सामुहिक लगानीले ठूलो स्थान पाईरहेको छ ।
नेपाल बाहिर रहेका नेपालीहरु विभिन्न तरवले घरदेशसंग जोडिएर विभिन्न व्यवसायमा हात राखिरहेका छन् । भने कैयौ नेपालीहरु राम्रो अवसर अनि राम्रो संरक्षित लगानी गर्ने ठाउँ नपाएर मन हुँदा हुदै पनि अन्योलमा बसेका छन् । त्यसको विश्वाशिलो पुल बन्नुपर्छ गल्कोट समाज । त्यसको लागि यसका नेतृत्वकर्ता पहलकर्ता ले समयमा नै विशेष ध्यान दिनु आवश्यक छ ।
अन्तमा, हामी जुन देशमा रहेपनि आफ्नो जन्म भूमिलाइै औधि माया गर्छौ । यो या त्यो तरवले हामी प्रत्यक्ष जोडिन चाहन्छौं । अबको बाटो नै त्यहि हो आउनुहोस् प्रवासी गल्कोटेहरु हातेमालो गरौं समृद्ध गल्कोटको परिकल्पनासंगै यसको निर्माणको साझेदार बनौं ।
‘हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरि समृद्ध बनाऔंं
समृद्धिका लागि लगानी अबको बाटो, रोजौं आफ्नै माटो’
(गल्कोट समाज जापानका उपाध्यक्ष रहेका लेखक पन्त अन्तर्राष्ट्रिय गल्कोट समाजका अभियान्ता पनि हुन्)