बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – पछिल्लो समय युवायुवतीमा पनि ढाड दुख्ने समस्या बढेको पाइन्छ । यो समस्या लिएर अस्पताल पुग्ने धेरै छन् । फेरिँदो जीवनशैली, खानपिन नमिल्दा, बसाइ नमिल्दा, हिँडाइ नमिल्दा ढाडमा विभिन्न समस्या हुने गर्दछ, जस्तो– नसा च्यापिने, हड्डी खिइनेलगायत प्रमुख समस्या हुन् । ढाड दुख्नुमा सबैभन्दा प्रमुख कारण हाम्रो अव्यवस्थित जीवनशैली नै हो । अव्यवस्थित जीवनशैली र खानपिनलाई व्यवस्थित गरियो भने यस्ता समस्याबाट मुक्ति मिल्न सक्छ ।


के गर्ने ?
लामो समय एउटै पोजिसनमा बसेर काम गर्नु ढाड दुख्ने प्रमुख कारण हो । हामी बस्दा वा काम गर्दा ढाडलाई सीधा बनाएर राख्नुपर्छ । मोबाइल सुतेर चलाउँदा, सुतेर टिभी हेर्दा ढाडमा समस्या देखिन्छ । निहुरेर वस्तु उचाल्दा ख्याल गर्नुपर्छ । लामो समय काम गर्नुहुँदैन । साथै, आफ्नो शारीरिक तौललाई सन्तुलनमा राख्नुपर्छ ।

स्वस्थ खानेकुरा खान जरुरी छ । शरीरमा आवश्यक भिटामीन डी प्रशस्त मात्रामा लिनुपर्छ । मोटरसाइकल बिस्तारै चलाउनुपर्छ । मोटरसाइकल स्पिड गर्दा भाइब्रेसनले ढाडमा समस्या निम्त्याउँछ ।

कच्ची सडकमा सवारी चलाउँदा शरीरमा कम्पन आउँछ । यसले गर्दा ढाडमा असर गर्छ । कहिलेकाहीँ हाम्रो शरीरमा भएको लिगामेन्ट र मासु केही मात्रामा च्यातिन पुग्छ । जसले गर्दा अत्यन्तै पीडा महसुस हुन्छ । यस्तो समस्या भएका व्यक्तिलाई उठ्न तथा हिँड्न गाह्रो हुन्छ । ढाड दुखिरहने समस्या छ भने व्यायाम तथा थेरापी गर्नुपर्छ ।

लामो समय कुर्सीमा बसेर काम गर्ने, ब्युटिपार्लर तथा सैलुनमा काम गर्ने व्यक्तिमा ढाडको समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया