बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं –  उमेर बढ्दै जाँदा धेरैमा स्वाभाविक उमेरभन्दा कम देखिने रहर जोकोहीलाई लाग्न सक्छ । मानिसहरू त्यसका लागि विभिन्न कस्मेटिक प्रडक्ट प्रयोग गर्छन् । तपाईंले कृत्रिम होइन, प्राकृतिक कुराको प्रयोगबाट पनि आफूलाई जवान देखाउन सक्नुहुन्छ । त्यसका लागि केही कुरामा ध्यान दिनुस् :

१. तपाईंको आँखीभौँ भद्दा र गलत सेपको छ भने त्यसलाई ट्रिम गरेर नयाँ लुक्स दिनुहोस् । तपाईं आफ्नो उमेरभन्दा केही कम देखिनुहुनेछ ।

२. हरेक दिन अनुहार, हात र घाँटीमा मोस्चराइज गर्नुहोस् । त्यसले तपाईंको छालालाई ताजा र स्वस्थ देखाउँछ ।

३. निद्रा पूरा गर्न जरुरी छ । यसो गर्दा तपाईंको शरीरले आराम र पुनर्ताजगी पाउनेछ । निद्राको कमीले मानिसलाई चाँडै बुढ्यौलीतर्फ लैजान्छ । त्यसैले दैनिक ८ घन्टा सुत्नुहोस् ।

४. शरीरमा सुगरको मात्रा बढ्यो भने समस्या धेरै आउँछ । चाउरीपन बढ्ने खतरा रहन्छ । त्यसैले सुगरको मात्रा कम गर्नुहोस् । मिठाई, सोडाजस्ता खाद्यान्न नखानुहोस् ।

५. भिटामिन सीयुक्त खानेकुरा पर्याप्त खानुहोस् । तपाईंको दैनिक खाद्यान्नमा ७५ एमजीबराबर भिटामिन सी समावेश हुनु आवश्यक छ । दुईवटा मध्यम साइजका सुन्तलामा योबराबर भिटामिन सीको मात्रा पाइन्छ । तपाईंको उमेर र तौल हेरेर भिटामिन सीको प्रयोग योभन्दा बढी पनि गर्नुपर्ने हुन सक्छ । यसले चाउरीपन बढ्नबाट जोगाउँछ ।

६. दाँतलाई सधैँ सेतो राख्नुहोस् । राम्रो टुथपेस्ट प्रयोग गर्नुहोस् । चम्किलो र सेतो दाँतले तपाईंलाई हँसिलो र युवा देखाउँछ ।

७. चिया र कफीले तपाईंको दाँतमा असर गरिरहेको हुन्छ । त्यसैले यसको सेवन कम गर्नुहोस् ।
८. तपाईंको खुट्टा र हातले पनि तपाईंको उमेरमा फरक पार्छ । त्यसैले हात–खुट्टा सधैँ सफा र टिपटप राख्नुहोस् ।

९. नियमित आँखाजाँच गर्नुहोस् । किनकि, तपाईंले थाहा नपाई तपाईंको आँखाको शक्ति बिस्तारै कम हुँदै गएको हुन सक्छ ।

१०. तपाईंको छालामा खैरो दाग तथा चाया, पोतो देखिएको छ भने त्यसको प्राकृतिक उपचार सुरु गर्नुहोस् । कागतीको जुसमा हल्का पानी मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । कागतीले ब्लिचको काम गर्नुका साथै बिस्तारै दागलाई कम गर्दै लैजान्छ ।

११. लाइट कलरको आइस्याडो लगाउँदा तपाईंको आँखा चम्किलो देखिन्छ । यसले तपाईंलाई भर्खरको देखाउँछ । तर, चम्किलो देखाउने नाममा कडा केमिकलयुक्त आइस्याडोको प्रयोग गर्नुभयो भने चाउरीपन बढ्ने खतरा रहन्छ ।

१२. लाइट कलरका पोसाकले तपाईंलाई भर्खरको देखाउँछ । तर, कपडाको चयन गर्ने विषय तपाईंको व्यक्तिगत हो । कपडा छान्दा आफूलाई कस्तो सुहाउँछ, त्यही आधारमा छान्नुहोस् ।

१३. सुत्ने वेलामा मेकअप हटाउनुहोस् । स्वस्थ रहन र ब्लक भएका पोर्सहरू खोल्न पनि मेकअप हटाउन जरुरी छ । दिनभरि तपाईंको छालामा जम्मा भएका प्रदूषण मेकअप नपुछेको खण्डमा जस्ताको तस्तै रहन्छन् र तपाईंको छालालाई ड्यामेज गर्छन् ।

१४. जवान देखिने अर्को उपाय हो, प्राकृतिक उत्पादनहरूको प्रयोग । ओलिभ, नरिवल, स्विट आल्मन्डलगायत तेलले राम्रो मोस्चराइजर, क्लिन्जर र अलराउन्ड ब्युटीको काम गर्छन् ।

१५. लिपस्टिक छनोट गर्दा ध्यान दिनुहोस् । विनामेकअप डार्क लिपस्टिक प्रयोग गर्दा तपाईं उमेरभन्दा बढीको देखिनुहुन्छ भने लाइट लिपस्टिक प्रयोग गर्दा भर्खरको । त्यसैले चम्किलो र लाइट लिपस्टिक प्रयोग गर्नुहोस् ।

१६. हेयर स्टाइललाई सधैँ नयाँ लुक दिनुहोस् । तपाईंले १० वर्षअघि जस्तो हेयर स्टाइल बनाउनुहुन्थ्यो, अहिले पनि त्यस्तै बनाउनुहुन्छ भने सोच्नुहोस् र परिवर्तन हुर्नुहोस् । फेसन र स्टाइल परिवर्तन भइरहन्छन् । तर, धेरै मानिस आफ्नो जीवनको अधिकांश समय पुरानै हेयर स्टाइलमा रमाउँछन् । हेयर स्टाइल परिवर्तन गर्दा तपाईं भर्खरको मात्रै देखिनुहुन्न, आफ्नो आत्मविश्वास पनि बढेको अनुभव गर्नुहुनेछ ।

१७. पर्याप्त पानी सेवन गर्नुहोस् । पानीको कमीले तपाईंको छाला र कपाललाई उमेरभन्दा बढी देखाउँछ । यस्तो समस्याका साथै विभिन्न रोगबाट बच्नका लागि पनि पर्याप्त पानी आवश्यक पर्छ । त्यस्तै, पानी तपाईंको तौल घटाउनमा पनि सहायकसिद्ध हुन्छ ।

१८. उमेर बढ्दै जाँदा मानिसको हाँसो कम हुँदै जान्छ । तर, सामान्य हाँसो र सकारात्मक सोचले तपाईंको अनुहारमा ठूलो परिवर्तन ल्याउँछ । हाँसोले तपाईंको अनुहारका नसालाई आराम दिन्छ र चाउरीपन कम गर्छ । त्यसैले तपाईं युवा हुँदा जुन स्पिरिटमा हाँस्नुहुन्थ्यो, त्यसरी नै हाँस्नुहोस्, खुसी रहनुहोस् ।

१९. पर्फ्युम र बडी स्प्रे छनोट गर्दा ध्यान दिनुहोस् । केही पफर््युम यस्ता हुन्छन्, जसको सुगन्धबाट मानिसले तपाईंलाई भर्खरको ठान्नेछन् । त्यसैले छोरीले प्रयोग गर्ने परफ्युम प्रयोग गर्नुहोस् ।

२०. जवान हुनु भौतिक कुरा मात्रै होइन, सोचाइको कुरा पनि हो । तपाईंले आफूलाई जवान महसुस गर्नुभयो भने अरूले पनि तपाईंलाई त्यस्तै व्यवहार गर्छन् । तपाईंलाई जवान देखिनका लागि सर्जरीकै आवश्यकता छ भन्ने होइन । सर्जरी गरिसकेपछि पनि तपाईंको विचार पुरानै रह्यो भने तपाईं जवान रहनुहुन्न ।

तपाईको प्रतिक्रिया