बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – एउटा छोराको चाहनाले सुखराम बैरवा ८३ वर्षको उमेरका बेहुला बनेका छन् । दुई दिन पहिले राजस्थानको करौली जिल्लाको सेभरदा गाउँमा उनले आफूभन्दा ५३ वर्ष कान्छी रमेशीसँग विवाह गरेका हुन् ।

हिन्दू परम्पराअनुसार मंगल गीत गाएर धुमधामसँग उनको विवाह भएको थियो । वैवाहिक समारोहमा सुखरामकी पहिली श्रीमती पनि उपस्थित थिइन् । विवाहपछि प्रहरीले कानुनी कारबाहीको बाटो अँगाल्छ कि भनेर सुखरामको परिवार चिन्तित देखिए पनि प्रहरीले भने आफूलाई घटनाका बारेमा केही जानकारी नभएको बताएको छ ।

स्थानीयबासीका अनुसार सुखरामसँग बिहे गर्ने रमेशीका सात दिदीबहिनी छन् । रमेशी सबैभन्दा कान्छी हुन् । सुखरामका दुई छोरीको बिहे पनि भैसकेको छ ।

सुखरामका एक्ला छोरा कान्हुको केही समय पहिले निधन भएको थियो । सुखरामका ज्वाईँ पप्पुका अनुसार रमेशीको उमेर ३० वर्ष रहेको छ । पप्पुका तीन छोरा र एक छोरी रहेका छन् ।

पहिले छोरीका छोरामध्ये कुनै एकलाई पाल्ने योजना बनाएका सुखरामले पछि भने विवाह नै गरे । पप्पुले भने, ‘सबैको विचार विवाह गर्नेमै भयो, हामी के भन्नु र ?’

पप्पुले सबैको सहमतिमा ससुराले विवाह गरेको बताए, ‘गाउँमा सबैले ज्वाईँले सम्पत्तिमा नजर लगायो भन्छन्, त्यसैले सबैले ससुरालाई विवाह गर्ने भने ।’ सुखरामको स्वास्थ्य अवस्था ठिकै रहेको छ । छोराको अभावले विवाह गरेकाले अब सुखराम परिवार छोराको पर्खाइमा रहेको छ ।

नेपाल तथा भारतमा वंश धान्न छोरा नै हुनुपर्छ भन्ने गलत मानसिकताका कारण बुढ्यौलीमा पनि विवाह गर्ने वा बहुविवाह गर्ने कुरा एउटा परम्परा जस्तै बन्दै आएको छ ।

तपाईको प्रतिक्रिया