बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडाैं – नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ । चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कुल सङ्ख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन् ।

पाश्चात्य जगत्मा प्रदूषण, धूमपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको सङ्ख्या घट्ने क्रम देखिएका बेला सो शोध गरिएको हो । शोधकर्ताहरूका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाइदिने प्रमाण पनि भेटिएको छ । अहिले सातमध्ये एक जोडीमा गर्भाधान नहुने समस्या देखिएको छ। झन्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको बताइन्छ ।

वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका ११९ स्वस्थ पुरुषहरूलाई दुई समूहमा विभाजित गरे ।

  • एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलनट नियमित भोजनसँग दिइयो
  • अर्को समूहको भोजनमा परिवर्तन गरिएन

बदाम आदि फल खाने समूहको शुक्रकीटको सङ्ख्या र गुणमा सुधार आयो ।

  • सङ्ख्यामा १४ प्रतिशतले
  • क्षमतामा ४ प्रतिशतले
  • गतिशीलतामा ६ प्रतिशतले
  • आकारमा १ प्रतिशतले
शुक्रकीटतस्वीर कपीराइटGETTY IMAGES

यी सबै विश्वस्वास्थ्य सङ्गठनले शुक्रकीटको गुणस्तरका लागि तोकिदिएका मापदण्ड हुन् । र, यिनको पुरुषको प्रजननक्षमतासँग सम्बन्ध हुन्छ । ओमिगा-३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन बी फोलेटले प्रजननशक्ति बढाउन सघाउँछन् भन्ने अरू शोधहरूको निष्कर्षलाई यसले समर्थन गरेको विज्ञहरूले बताएका छन् ।

बदाम र ओखरजस्ता फलहरूमा यी र अन्य पोषक तत्त्वहरू हुन्छन् । “स्वस्थ आहार र जीवनशैलीले गर्भाधानको सम्भावना बढाउँछ भन्ने मान्यतालाई समर्थन गर्ने वैज्ञानिक प्रमाण थपिँदैछन्,” शोधको नेतृत्व गरेका स्पेनस्थित रोभिरा ई भिर्जिलीका डा. अल्बर्ट सालास-हुएटोसले भने । –बीबीसी

तपाईको प्रतिक्रिया