शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – पुस्तकको बजार एकनासको हुँदैन । कहिले नाम चलेका लेखक नै बिक्दैनन् । कहिले नयाँ लेखकलाई पनि पाठकले औधी मन पराइदिन्छन् । तर, लेखक बुद्धिसागरको भनाइमा ०७४ सालमा राम्रा पुस्तक आए ।

सयौँ पुस्तकमध्ये पाँचवटा पुस्तक मात्र उत्कृष्ट आए भने त्यसलाई उपलब्धि मान्नुपर्ने उनको तर्क छ । जस्तो कि अंग्रेजी भाषामा एक वर्षमा प्रकाशन हुने हजारौँ पुस्तकमध्ये १०/१२ पुस्तकको मात्र चर्चा हुन्छ ।

०७५ सालमा केही पुराना र धेरै नयाँ लेखकका पुस्तक आउँदै छन् । केही स्थापित लेखकप्रति भने पाठकको आशा छ । जस्तो, उनीहरूका पुस्तकको विमोचनमा हस्ताक्षर गराउनेको लामो लाइन हुन्छ।

अमेरिका बसोवास गर्ने राजव यतिवेला नेपालमा छन् । उनको कथा संग्रह ‘पाइ’ प्रकाशनको अन्तिम तयारीमा छ । सांग्रिला बुक्सले प्रकाशन गर्ने यो पुस्तकमा २० कथा छन् । राजवको नाटक संग्रह पनि यही वर्ष प्रकाशन हुँदै छ । ‘हरतुल बरतुल करतुल’ नामको संग्रहमा चारवटा नाटक रहेको उनले जानकारी दिए । यो पुस्तक भृकुटी प्रकाशनबाट आउँदै छ ।

उनको उपन्यास ‘एटलान्टिक स्ट्रिट’को दोस्रो संस्करण फिनिक्स बुक्सले प्रकाशन गर्दै छ । उनी अहिले अर्को नयाँ उपन्यास ‘मकबुल’लाई अन्तिम रूप दिइरहेका छन् । तर, त्यो भने ०७६ सालमा मात्र प्रकाशन हुनेछ ।

पाठकले प्रतीक्षा गरिरहेका अर्का आख्यानकार अमर न्यौपाने पनि यो वर्ष नयाँ उपन्यास लिएर आउँदै छन् । उनको उपन्यास गुलाबी उमेर फाइन प्रिन्टले प्रकाशन गर्दै छ । फाइन प्रिन्टले सुविन भट्टराई र राज सरगमका नयाँ उपन्यास पनि प्रकाशन गर्दै छ । तर, उनीहरूका उपन्यासका नाम भने नजुरिसकेको फाइन प्रिन्टका अजित बरालले जानकारी दिए ।

यो वर्ष लेखक कुमार नगरकोटी नयाँ अवतारमा आउँदै छन् । उनको सचित्र उपन्यास (ग्राफिक्स नोबल) फाइन प्रिन्टले बजारमा ल्याउँदै छ । राजेन्द्र पराजुलीको कथा संग्रह पनि फाइन प्रिन्टबाटै प्रकाशन हुँदै छ । उनको पुस्तकको पनि नाम जुरिसकेको छैन ।

कुमार नगरकोटीको अर्को उपन्यास गेह बुकहिलले प्रकाशन गर्दै छ । यो वर्ष आत्मकथा, संस्मरण, कविता, आख्यान र समालोचना गरी १५ वटासम्म नयाँ पुस्तक प्रकाशनको तयारी गरेको बुकहिलका भूपेन्द्र खड्काले जानकारी दिए । अन्य केही पुस्तकको ‘रिप्रिन्ट’सहित यो वर्ष २५ वटासम्म पुस्तक प्रकाशन गर्ने उनले बताए । बुकहिलले पहिलोपटक समालोचनाको पुस्तक पनि प्रकाशनको तयारी गरेको छ ।

सरुभक्तको नयाँ उपन्यास प्रतिगन्ध बुकहिलबाटै प्रकाशन हुँदै छ । कविका रूपमा चर्चा कमाएका भूपिन यही वर्षबाट आख्यानकारका रूपमा आउँदै छन् । उनको उपन्यास मैदारो पनि बुकहिलले नै प्रकाशन गर्दै छ । खगेन्द्र लामिछानेको उपन्यास पनि प्रकाशनको तयारीमा छ । तर, उनको उपन्यासको नाम जुरिसकेको छैन ।

उपेन्द्र सुब्बाको सिनेमा कबड्डी कबड्डीको स्क्रिप्ट पनि बुकहिलले प्रकाशन गर्दै छ । यो वर्ष उनको नयाँ कथा संग्रह पनि पाठकले पढ्न पाउनेछन् । बुकहिलले वरिष्ठ कविहरूका कविता संग्रह पनि प्रकाशन गर्ने भएको छ । यो वर्ष कवि तुलसी दिवस, विप्लव प्रतीक र तीर्थ श्रेष्ठका नयाँ कविता कृति प्रकाशन हुँदै छन् । बुकहिलले वर्षको सुरुमा मोहन मैनालीको निबन्ध संग्रह देखेको देश प्रकाशनको तयारी गरेको छ । सो पुस्तक वैशाखमै बजारमा आउनेछ ।

बुकहिलले सरुभक्तको पागल बस्तीसहित चारवटा पुस्तक पुनःप्रकाशन गर्दै छ । त्यस्तै, कुमार नगरकोटीको मोक्षान्तः कोठमाडु फिभर र अक्षरगञ्ज तथा सौरभको असहमति पनि पुनः प्रकाशन गर्दै छ ।

यसअघि अब्बा कथा संग्रहमार्फत चर्चा कमाएका श्याम साह उपन्यासकारका रूपमा देखा पर्दै छन् । फिनिक्स बुक्सले साह र मीनराज वसन्तका नयाँ उपन्यास प्रकाशन गर्दै छ । यो वर्ष कम्तीमा तीनवटा आख्यानका पुस्तक प्रकाशन गर्ने फिनिक्स बुक्सले जनाएको छ ।

त्यस्तै, रेशम विरहीका दुई पुस्तक प्रकाशन हुँदै छन् । उनका उपन्यास र निबन्ध संग्रह दुवै शिखा बुक्सले प्रकाशन गर्दै छ । तर, दुवै पुस्तकको नाम जुरिसकेको छैन । शिखा बुक्सले नै भुवनहरि सिग्देलको निबन्धात्मक संस्मरण पनि प्रकाशन गर्दै छ । उनको पुस्तकको पनि नाम राखिनसकेको शिखा बुक्सका पुष्पराज पौडेलले जानकारी दिए ।

उता, सांग्रिला बुक्सले वैशाखमै मनोज बोगटीको कथा संग्रह लाइफ अ बटरफ्लाई विमोचन गर्दै छ । कविका रूपमा चिनिएका दार्जिलिङका बोगटी ११ कथासहित आख्यानकारका रूपमा आउन लागेका हुन् । त्यस्तै, लक्ष्मण गौतमको कथा संग्रह उहापोह पनि प्रकाशनको तयारीमा रहेको सांग्रिलाले जनाएको छ ।

सांग्रिलाले नै शारदा शर्माको संस्मरण प्रकाशन गर्दै छ । सो पुस्तकमा राजाले प्रत्यक्ष रूपमा शासन हातमा लिएयताका १० वर्षका घटना समेटिएको सांग्रिलाका मणि शर्माले जानकारी दिए । सांग्रिलाले सोमत घिमिरेको गैरआख्यान पनि प्रकाशनको तयारी गरिरहेको छ । त्यस्तै, सरोजराज अधिकारीको उपन्यास धम्बोजी चोक पनि यही वर्ष  प्रकाशनमा आउनेछ ।

अरू धेरै पुस्तकमाथि काम भइरहेको शर्माले जानकारी दिएका छन् । तर, कतिपय पुस्तक अन्तिम स्वरूपमा नगइसकेकाले प्रकाशन हुने/नहुने भन्न नमिल्ने उनको भनाइ छ ।

यो वर्ष फाइन प्रिन्टले गैरआख्यानका महत्वपूर्ण कृतिहरू प्रकाशनको तयारी गरेको अजित बरालले जानकारी दिएका छन् । वैशाखमै डा. राजु अधिकारीले लेखेको जीवनशैलीसम्बन्धी पुस्तक रिलाक्स जिन्दगी बजारमा आउँदै छ । पत्रकार वसन्त बस्नेतले मधेसमाथि लेखेको गैरआख्यान पनि प्रकाशनको अन्तिम तयारीमा छ ।

दधि सापकोटाले वन्यजन्तुका आनीबानीबारे लेखेको पुस्तक पनि फाइन प्रिन्टले प्रकाशनको तयारी गरिरहेको छ । यो पुस्तकको नाम नजुरिसकेको बरालले बताए । प्रकाशनको तयारीमा रहेको डा. भगवान् भण्डारीको आत्मकथाको पनि नाम जुरिसकेको छैन ।

यो वर्ष वात्सायनको कार्टुन संग्रहको दोस्रो भाग पनि फाइन प्रिन्टले बजारमा ल्याउँदै छ । पहिलो भाग ०६३ सालमा प्रकाशन भएको थियो । फाइन प्रिन्टले यो वर्षदेखि अंग्रेजी पुस्तक पनि प्रकाशन गर्ने भएको छ । लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासको अंग्रजी अनुवाद प्रकाशन हुँदै छ । यसअघि अमेरिकाको कोलम्बिया युनिभर्सिटी प्रेसले प्रकाशन गरेको सो कृति कपीराइट लिएर बजारमा ल्याउन लागेको फाइन प्रिन्टले जनाएको छ ।

नयनराज पाण्डेको उपन्यास उलारको अंग्रेजी अनुवाद पनि प्रकाशन गर्ने फाइन प्रिन्टको तयारी छ । अजित बरालको सन् २००९ मा पेन्गुइनबाट प्रकाशन भएको ‘द लेजी कन्म्यान एन्ड अदर स्टोरिज : फोल्क टेल्स फ्रम नेपाल’लाई पनि पुनः प्रकाशन गर्ने फाइन प्रिन्टको तयारी छ ।

फाइन प्रिन्टले असिम सागरको कविता संग्रह पनि प्रकाशन गर्ने भएको छ । रमेश क्षितिजको कविता संग्रह पनि प्रकाशनका लागि कुरा भइरहेको अजित बरालले जानकारी दिए ।

यो वर्ष कवि मुक्तान थेबा र केवल बिनाबीको कविता संग्रह पनि आउनेछ । मुक्तान थेबाको कविता संग्रह लगभग तयार भइसकेको छ । नाम भने राखिनसकेको उनले जानकारी दिए । केवल बिनाबी भने संग्रहका लागि कवितालाई अन्तिम रूप दिइरहेका छन् । दुवै उन्मक्त पुस्तासँग सम्बन्धित कवि हुन् । त्यस्तै, कपिल अञ्जानको गजल संग्रह शिखा बुक्सले प्रकाशन गर्दै छ ।

उता, फिनिक्स बुक्सले यो वर्ष तीनवटा कविताका पुस्तक प्रकाशन गर्दै छ । त्यस्तै, पाँचवटा आत्मकथा र दुईवटा नीति निर्माणसँग सम्बन्धित गैरआख्यानको पनि प्रकाशनको तयारी छ । हाङयुग अज्ञातका दुई पुस्तक फिनिक्सबाटै आउँदै छन् । तीमध्ये एउटा संस्मरण र अर्को साहित्य सिद्धान्तसम्बन्धी पुस्तक छन् । फिनिक्सले बालबालिकासँग सम्बन्धित दर्जनभन्दा बढी पुस्तक प्रकाशनको तयारी गरिरहेको छ ।

यो वर्ष नेपालयले कम्तीमा आधा दर्जन पुस्तक प्रकाशनको तयारी गरेको छ । पत्रकार तथा लेखक नारायण वाग्लेको नयाँ पुस्तक यही वर्ष प्रकाशन हुँदै छ । नेपालयले केही दिनमा नै सुजित शाक्यको पुस्तक अर्थात् अर्थतन्त्र सार्वजनिक गर्ने जनाएको छ ।

नयाँ लेखकका कृतिलाई प्राथमिकताका साथ प्रकाशन गरिरहेको बुलबुल प्रकाशनले गत शनिबार जिएस पौडेलको उपन्यास एक सर्को माया विमोचन गरेको छ । उपन्यास माल्दिभ्सको पृष्ठभूमिमा लेखिएको छ । बुलबुलले नायिका सोभिता सिंखडाको उपन्यास वरांगना पनि प्रकाशनको तयारी गरिरहेको छ । सो उपन्यास एक महिनाभित्र बजारमा आउने बुलबुलका अच्युत घिमिरेले जानकारी दिए । यो वर्ष बुलबुलले रवि अर्यालको उपन्यास थेम्स डायरी र सूर्य बलम नेपालको दिप्ति पनि प्रकाशन गर्दै छ । किशोर लेखक प्राविधिक केसी पनि आफ्नो पहिलो उपन्यास लिएर बुलबुलमार्फत नै आउँदै छन् ।

०७५ सालमा कुनै नयाँ लेखक ‘सप्राइज’को रूपमा चर्चामा आउने सम्भावना पनि उत्तिकै छ । सबु सुवेदीको उपन्यास विथ लभ, दीपक सिञ्जालीको मीरा र हरि भट्टराईको संगम पनि यो वर्ष नै प्रकाशन हुँदै छन् । यीबाहेक अन्य प्रकाशनले पनि धेरै नयाँ तथा पुराना लेखकका पुस्तक प्रकाशनको तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया