शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – आँखा मानव शरीरको संवेदनशील अंग हो । गर्मी मौसममा आँखाको अझ बढी ख्याल गर्न जरुरी हुन्छ । यस्तो मौसममा आँखासम्बन्धी एलर्जी, घामका किरणको असर, धुवाँ, धुलोका कारण अन्य पनि गम्भीर समस्या देखा पर्न सक्छन् । गर्मी मौसममा बढी देखा पर्ने समस्या भनेको आँखा पाक्ने, आँखामा सुक्खापन, संक्रमण आदि हुन् ।

समस्या
गर्मी मौसममा सबैभन्दा बढी आँखाको एलर्जी, आँखा पाक्ने, इन्फेक्सन, आँखामा सुक्खापनजस्ता समस्या देखिन्छन् । त्यस्तै, आँखामा आँसुको कमी, आँखा रातो हुने, चिलाउने, आँसु झरिरहनेजस्ता समस्या पनि देखा पर्छन् ।
सावधानी
बाहिर निस्कँदा आँखाको सुरक्षाका लागि अनिवार्य चस्माको प्रयोग गर्नुपर्छ । चस्माको प्रयोग गर्दा हावाहुरी चल्दा धुलोका कण सीधै आँखामा पर्न पनि पाउँदैन ।
आँखामा धुलो परेको अवस्थामा मिच्ने गल्ती गर्नुहुँदैन । मिच्दा रातो हुनेलगायतका समस्या निम्तिने गर्छन् । यसले दृष्टिविहीनको अवस्था पनि निम्त्याउन सक्छ ।
आँखा लगातार हेरिरहने बानी गर्नुहुँदैन । छिटोछिटो चिम्लिने बानी गर्नुपर्छ । लगातार आँखा हेर्दा आँखामा बढी धुलो पर्न जान्छ ।

दिनमा कम्तीमा ३ पटक सफा पानीले आँखा सफा गर्नुपर्छ । यसो गर्दा आँखामा भएका स–साना कीटाणु बगेर जान्छन् र सम्भावित खतराबाट जोगिन सहयोग पुग्छ । यसरी आँखा पखाल्दा पानीले टाढैबाट बेसरी छ्याप्नु हुँदैन, बिस्तारै पखाल्नुपर्छ । र, नियमित आँखाको परीक्षण गर्न जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया