बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं– नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेको छ । नेविसंघको साथै पार्टी पनि विधि र विधान अनुसार संचालन नभएको भन्दै विद्यार्थीले नेतृत्वको ध्यानाकर्षण गराउदै पार्टी कार्यालय सानेपामा प्रर्दशन गरेका हुन् ।

केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार पठाएका छन् । विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोबाट उज्यालोमा आउने सन्देश स्वरुप चश्मा उपहार दिएको विद्यार्थीले बताएका छन् ।

विद्यार्थीले ‘जिद्दीले होइन विधिले चलौ , वेथितिले होइन विधिबाट चलौं’ भन्दै पार्टी भित्रको वेथितिका बारेमा केन्द्रीय कार्यालय परिसरभित्रै चर्को नाराबाजी गरेका थिए ।
केन्द्रीय महाधिवेशन भएको झण्डै डेढ बर्ष भईसक्दा पनि जिल्ला तथा क्याम्पसको अधिवेशन नभएको, नेविसंघका सभापतिले मनोमानी ढंगमा क्याम्पसका अध्यक्ष तोक्ने काम गरिएको असन्तुष्ठ विद्यार्थीले आरोप लगाएका छन् ।

विद्यार्थी नेता मनोहरि श्रेष्ठले पार्टी विधि र विधान अनुरुप संचालन हुनुपर्छ भन्दै बुझाएको १० बुँदे माग लामो समयसम्म पनि सम्बोधन नभएपछि नेवि संघको प्रतिष्ठालाई जोगाउदै आफुहरु शान्तिपुर्ण विरोधमा उत्रिएको बताउनुभयो ।

केन्द्रीय कार्यसमिति बैठकका लागि आएका सबै नेतालाई भेटेर विद्यार्थीले ज्ञापनपत्र दिदै आफ्ना माग बारे केन्द्रीय समिति बैठकमा छलफल गर्न ध्यानाकर्षण गराए । विद्यार्थीले  नेताहरु रामचन्द्र पौडेल, गगन थापा, रमेश लेखक लगायत नेतालाई माग सम्बोधनका लागि पहल गर्न ध्यानाकर्षण गराए ।

यसैबीच अध्यक्ष नैनसिह महर लगायतले विधानविपरित मनोमानी ढंगले संगठन सञ्चालन गरेको भन्दै नेविसंघका असन्तुष्ट समूहले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

महामन्त्री कुन्दनराज काफ्लेको टोलीले आइतबार जारी पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष महराविरुद्ध नौ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा अध्यक्ष महरले तानाशाही शैलीमा केन्द्रीय समितिमा मनोनित गरेका पदाधीकारी तथा सदस्यहरु खारेज गर्नुपर्ने, २ बर्षभित्र संघको विधानअनुसार १२ औं महाधिबेसन गर्नुपर्नेमा गर्न नसकेको, ११ औं महाधिबेसनको म्यानडेटविपरित विभिन्न विश्वविद्यालयहरुमा गठन गरिएका विभागहरु खारेज गर्नुपर्ने, विबादित जिल्लामा गर्नुपर्ने अधिबेसन नगरेको लगायतका आरोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया