बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धमा चितवन जिल्ला अदालतमा दायर भएको मुद्दाको पेशी आज परेको छ ।

चार वर्षअघि दायर भएको सो मुद्दामा पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सकिएको डेढ वर्ष भएपनि अन्तिम फैसलाका लागि तोकिएको पेशी पटकपटक सर्दै आएको छ । आजका लागि सो मुद्दामा तोकिएको पेशी २० औं हो ।

पेशी परे पनि सुनुवाई नभएर सर्दै आएका कारण यो विषयमा आज के हुने छ भन्ने चासो धेरैलाई छ ।  गोरखाका कृष्ण अधिकारी चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबा हजुरआमालाई भेट्न आएका बेलामा २०६१ सालको जेठ २४ मा हत्या भएको थियो ।

हत्याको जिम्मा तत्कालिन विद्रोही पक्ष माओवादीले लिएको थियो । कृष्णका दाजु र बाबुले हत्या विरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सो जाहेरीविरुद्ध कुनै कारवाही भएको थिएन ।

कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि विस २०७० सालको चैत्र ३० गते सो मुद्दा चितवन जिल्ला अदालतमा दायर भएको थियो । अदालतमा १३ जना विरुद्ध मुद्दा दायर भएको छ ।

मुद्दामाथि पक्ष विपक्षका कानुन व्यवसायीले अन्तिम पटक गत वर्ष असोजमा बहस गरेका थिए । तर फैसला आउने गरेर तोकिएका पेशीहरु जहिले पनि सर्दै आएका छन् । छोराको हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा नै निधन भयो भने आमा गंगामायाको अनशन जारी छ ।

तपाईको प्रतिक्रिया