शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा ३० दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । सिरियामा ३० दिनका लागि युद्धविराम गर्ने प्रस्ताव सुरक्षा परिषद्मा सर्वसम्मत पारित भएको हो ।

सुरक्षा परिषद्का सबै १५ सदस्यले प्रभावित क्षेत्रमा सहायता र औषधि उपलब्ध गराउन प्रस्तावको समर्थन गरेका हुन् । पछिल्लो समय सिरियाको राजधानी दमास्कस नजिकै विद्रोही नियन्त्रित गुटा क्षेत्रमा सरकारी सेनाले बमबारी जारी राखेको थियो । यसैलाई रोक्नका लागि सुरक्षा परिषद्ले युद्धविरामको घोषणा गरेको हो ।

सुरक्षा परिषद्को निर्णयपछि पनि सिरियाली सरकारले भने विद्रोहीमाथि हवाई कारबाही जारी राखेको बताइएको छ । यसअघि युद्धविरामको प्रस्तावमाथि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा विवाद देखिएको थियो ।

युद्धविरामको प्रस्तावमा रुसले संशोधन गर्नुपर्ने माग गरेको थियो । संयुक्त राष्ट्रसंघका अमेरिकी प्रतिनिधि निकी हेलीले युद्धविरामको निर्णयलाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले युद्धविराम गर्न सिरिया सरकार तयार हुनेमा भने आशंका रहेको बताए ।

राष्ट्र संघका रुसी दूत विताली चुर्किनले भने युद्धमा संलग्न दुवै पक्षले राष्ट्रसंघको प्रस्ताव स्वीकार नगरेसम्म युद्धविराम सम्भव नहुने बताए । सिरियामा जारी पछिल्लो संघर्षमा अहिलेसम्म ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया