शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – बदलिँदो दुनियाँमा विभिन्न उपकरण मानिसका ‘सोख’ बन्ने गरेका छन् । तर, तिनै सामग्री कहिलेकाहीँ निकै महँगा साबित भइदिन्छन् । पछिल्लो समय अमेरिकामा आइफोन–१० को मूल्य करिब एक लाख पर्छ । तर, त्यही आइफोनको लत छुटाउन भने झन्डै ४२ लाख नेपाली रुपैयाँ खर्चनुपर्ने भएको छ । जुन आइफोनको मूल्यभन्दा करिब ४२ गुणा बढी हो । अमेरिकाका धनाढ्यहरू आइफोनको लत छुटाउन आफ्ना बच्चामा यति ठूलो धनराशि खर्च गरिरहेका छन् ।

सिलिकन भ्यालीमा रहेका ठूला कम्पनी फेसबुक, ट्विटर, एप्पल र गुगलको आसपासमा दर्जनौँ यस्ता विशेष क्लिनिक स्थापना गरिएका छन्, जहाँ मोबाइल फोनको लत छुटाउने गरिन्छ । यी क्लिनिक ती युवालाई लक्षित गरिएको छ, जो दिनमा २० घन्टासम्म मोबाइलमा झुन्डिरहन्छन् ।

क्लिनिक खर्च
सन फ्रान्सिस्कोदेखि करिब ३० किलोमिटरको दूरीमा रहेको एक महलमा एक क्लिनिक खुलेको छ । पहाडको सबैभन्दा उचो चुचुरोमा हरियाली बीचमा स्थापना गरिएको यो क्लिनिकमा मोबाइलको लत लागेका युवालाई ४५ दिनसम्म उपचार गरिन्छ । क्लिनिकको खर्च सेवाका आधारमा निर्धारण गरिएको छ । यदि विशेष खाना र हट टबको सुविधा लिने हो भने यहाँ बसेको एक रातकै खर्च करिब डेढ लाख रुपैयाँ हुन आउँछ । क्लिनिक भवनभित्र मोबाइल फोन र ल्यापटप लग्न प्रतिबन्ध लगाइएको छ । कक्षाकोठामा भने शिक्षक र मनोविद्हरूको निगरानीमा कम्प्युटर प्रयोग गर्न पाइन्छ ।

क्लिनिकमा उपचारका लागि आउने युवालाई पढाइ, परिवार, साथीभाइ र अन्य काममा समय दिऊन् भनेर थेरापी गरिन्छ । क्लिनिकका निर्देशक डेनियल कोवाक्स भन्छन्, ‘हामी उनीहरूको जिन्दगी ‘अफलाइन’ बनाउँछौँ, यो यहाँको नियम हो । सबैभन्दा खुसी त त्यतिवेला लाग्छ जब उनीहरू आफैँ हामीलाई धन्यवाद दिन्छन् र भन्छन्, अब सोसल साइटलाई भन्दा आफैँलाई ध्यान दिन्छौँ ।’

अमेरिकामा आधिकारिक रूपमा इन्टरनेटको लतलाई बिरामी मानिँदैन । जबकि अस्ट्रेलिया, चीन, इटाली र जापानमा यसलाई बिरामीको रूपमा परिभाषित गरिएको छ । दक्षिण कोरियामा सरकारी अस्पतालमै यसको उपचार थालिएको छ । ‘इन्टरनेटको लत लागेका युवा, बालबालिका रातभरि फेसबुक, इन्स्टाग्रामजस्ता साइट चलाउँछन्,’ निर्देशक डेनियल कोवाक्स भन्छन्, ‘अनि बिहान विद्यालय, कलेज जानका लागि उठ्नै सक्दैनन् । उनीहरूको ध्यान पढाइ अथवा काममा केन्द्रित हुँदैन ।’ त्यहाँ जाने अधिकांश सेवाग्राही विद्यालय शिक्षा पार गरेका हुन्छन् ।

इन्टरनेट काटिदिँदा रिसाउने, झर्किने, लुकीलुकी सामाजिक सञ्जालको प्रयोग गर्ने, झुट बोल्ने, एक्लै समय बिताउने वा परिवारबाट टाढिन थाले भने बालबालिकालाई इन्टरनेटको लत परेको छ भनेर बुझ्नुपर्ने सुझाब निर्देशक डेनियलको छ । उनी भन्छन्, ‘अभिभावकले इन्टरनेट प्रयोगको सीमा निर्धारण गर्नैपर्छ । खाने समयमा र सुत्नुभन्दा पहिला कम्प्युटर, इन्टरनेट, आइप्याड तथा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउनैपर्छ ।’

मोबाइलको लत छुटाउन स्थापना गरिएको क्लिनिकमा आरामदायी कोठा, त्यसमा तीनवटा बेड, खुला झ्याल, त्यहाँबाट समुद्रको दृश्य देख्न सकिने गरी स्थापना गरिएको छ । उपचारका क्रममा सम्बन्ध सुमधुर बनोस् भनेर अभिभावकलाई पनि सँगै राखिने गरेको छ । कोवाक्सको भनाइ छ, ‘सुरुमा लतमा परेकालाई उकुसमुकुस हुन्छ, बिस्तारै–बिस्तारै उनीहरूलाई ‘अफलाइन’ संसारसँग पे्रम गर्न सिकाइन्छ ।’

उपचारका क्रममा उनीहरूलाई कडा परिश्रम गर्न र स्वास्थ्यप्रति सचेत हुन सिकाइने गरेको छ । यहाँ आउनेहरू बिहान ७ बजे उठ्ने र सबैसँग बसेर कफी पिउने गर्छन् । ‘हामी दिनको सुरुवात सकारात्मक रूपमा गर्छौं, ताजा र सन्तुलित खाजा खान्छौँ र समूहमा काम गर्छौं,’ कोवाक्सले भने । क्लिनिकमा आउने सेवाग्राहीलाई पढाइ, थेरापी, विभिन्न सीपको विकास र शारीरिक व्यायाम पनि गराउने गरिएको छ । कोवाक्सका अनुसार रातिको खाना खानेवेला उनीहरू एक–आपसमा कुराकानी गर्दै खान्छन् । अर्को दिनको योजना बनाउँछन् । क्लिनिकमा योग र ध्यानको कक्षा पनि सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया