शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं –  शृंखलाबद्ध व्यक्ति हत्या घटनाका मुख्य नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा रहेको भेटिएको छ ।

बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो ।

नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्बिर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएको निष्कर्षमा पुगेको हो ।

नवलपरासीबाट जारी भएको ८५८६४ नम्बरको नागरिकताका आधारमा मनोजले पासपोर्ट निकालेको देखिन्छ । प्रहरीले फेला पारेको ०५२१७४८८ नम्बरको पासपोर्ट ५ अक्टोबर २०१५ मा जारी गरिएको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार मनोजले आफ्नो परिचय बदल्न दोहोरो नागरिकता र पासपोर्ट निकालेको हुन सक्छ ।

मनोजका साथबाट भेटिएको फरक नामको पासपोर्टपछि उनले कसरी फरक नाममा फरक जिल्लाबाट नागरिकता निकाल्न सफल भए भन्नेबारे अनुसन्धान सुरु गरिएको छ । स्रोतका अनुसार नक्कली अभिभावक खडा गरेर पुनले नवलपरासीबाट नागरिकता लिएको र त्यसैका आधारमा पासपोर्ट बनाएको देखिन्छ ।

पुनको साथमा भेटिएको पासपोर्टबाट उनले कुनै देशको यात्रा गरेको देखिँदैन । तर फरक नाममा निकालेको नागरिकता र पासपोर्टकै आधारमा उनले आफ्नो अपराध कर्मलाई लुकाइरहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पुनको साथबाट राना सराङकोटीका नाममा रहेको प्रभु बैंकको एटीएम कार्डसमेत फेला पारेको छ । उक्त एटीएम कार्ड उनको आफ्नै थियो कि अरू कसैका नाममा निकालिएको कार्ड उनले चलाएका थिए भन्ने चाहिँ खुलेको छैन ।

उक्त नामको खाताको विस्तृत कारोबार विवरण हेरेपछि खाताको वास्तविक व्यक्ति को हो भन्ने पत्तो लाग्नेछ ।

तपाईको प्रतिक्रिया