शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘परियोजना निगरानी सूचना प्रणाली’ संचालनमा ल्याएको छ । प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको कामबारे अन्तर्राष्ट्रिय दाताहरूलाई समेत अनुगमन गर्न सहज हुनेगरी ‘परियोजना निगरानी सूचना प्रणाली’ आजबाट संचालनमा ल्याएको हो ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याइएको सो सेवाबाट पुनर्निर्माणको कामलाई अनुगमन गर्न सहज हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिनुभयो ।  विश्वका विकसित मुलुकहरूले परियोजना अनुगमनका लागि प्रयोग गर्दै आएको यो सूचना प्रणालीमार्फत् पुनर्निर्माणको कामलाई विश्वको कुनै पनि कुनाबाट हेर्न सकिने विश्वास गरिएको छ। देशका विभिन्न भागमा भएका पुनर्निर्माणको कामलाई निगरानीमा राख्न पनि यो सूचना प्रणाली उपयोगी हुनेछ ।

यो प्रणालीले पुनर्निर्माणको कामलाई तीव्रता दिन सहयोग गर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले बताउनुभयो । दाताहरूले आफूले दिएको बजेट पुनर्निर्माणको काममा सदुपयोग भयो, भएन? भनेर हेर्न पनि यो सूचना प्रणालीलाई प्राधिकरणले संचालनमा ल्याएको हो । कार्यक्षेत्रमा खटिएका प्राविधिकहरूले सोही ठाउँबाट त्यहाँ भएका कामको प्रगति विवरण सो सूचना प्रणालीमा अपलोड गर्नेछन् । सोही सूचना संसारका कुनै पनि मुलुकमा बसेर हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले अंग्रेजी भाषामा सुरू गरिएको सो सूचना प्रणाली नेपाली भाषामा पनि संचालन गर्ने योजना रहेको बताउनुभयो । प्राधिकरणले सूचना प्रणालीको माध्यमबाट पुनर्निर्माणको कामले झनै गति लिने विश्वास व्यक्त गरेको छ । चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको कामलाई पूरा गर्ने योजना अनुसार काम भइरहेको प्राधिकरणको दाबी छ ।

तपाईको प्रतिक्रिया