बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

रुपन्देही – प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोजबहादुर बुढामगर ( मनोज पुन ) अन्तत: प्रहरी कारवाहीमा मारिएका छन् ।

प्रहरीको इन्काउन्टरमा गएराति रुपन्देहीको देबदह–४, भवानीपुरमा पुन र उनका सहयोगी सोम आले पनि मारिएका छन् । पछिल्लो समय भारतमा बसेर रुपन्देहीका युवा संघका नेताहरु दुर्गा तिवारी र वसन्त पौडेलको हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार देबदह क्षेत्रमा पुनको समूहले आतंककारी गतिविधि गर्दैछ भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । तर घटनास्थलमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी कारवाहीमा उनी मारिएको प्रहरीले जनाएको छ ।

उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली परिचालन भएको थियो । २९ वर्षीय मनोज पुन देबदह खैरेनीका बासिन्दा हुन् । उनको अपराधिक यात्रा २०६४ सालपछि सुरु भएको प्रहरी स्रोत बताउँछ ।

ठेक्कापटटमा हस्तपेक्ष सुरु गरेका उनले भारतबाट नेपाल आउने मार्वल बोकेका ट्रकहरुसँग पैसा असुल्ने कार्य गर्दथे । २०६४ पछि माओवादीको वाईसीएल मा आवद्ध भएका पुन फेरि एमाले निकट युथ फोर्समा प्रवेश गरेका थिए ।

वाईसीएलमा बसेर अपराधिक गतिविधि गरेका पुनलाई एमाले निकट युथ फोर्सले रुपन्देहीको क्षेत्र नम्बर १ को कोषाध्यक्षको जिम्मेवारी दिएपछि अपराधिक कर्मलाई पुनले राजनीतिक आवरणमा झनै ठूलो बनाएका थिए ।

माओवादीको युवा संगठन बाईसीएलको आतंकको प्रतिकार गर्न भन्दै तत्कालिन अवस्थामा एमालले युथ फोर्स बनाइएको थियो । युथ फोर्समा प्रवेश गरेपछि मनोज पुनको आपाराधिक क्रियाकलाप झनै झाँगिएको थियो ।

युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र मनोज पहिला एउटै समितिमा बसेर काम गरेका थिए । आन्तरिक विवादका कारण मनोज पुनलाई युवा संघले कारवाही गरेको थियो । त्यपछि उनी तिवारीमाथि आक्रामक भएको बताइन्छ । वाईसीएल र युथ फोर्समा रहँदा पुनले चन्दा उठाउने, हप्ता असुल्ने, धम्की दिनेलगायतका कार्य गर्दै आएका थिए ।

कारवाहीमा परेका पुनले दुर्गा तिवारी र वसन्त पौडेलको हत्या हुने सञ्चारकर्मीलाई फोन मार्फत जानकारी गराउँदै आएका थिए । स्थानीय केरवानी माविबाट एसएलसीसम्मको पढाई पूरा गरेका पुनका श्रीमती र एक छोरी छन् । उनको देबदह चोकमा एकतले घर छ ।

म्याग्दी पुरख्यौली घर भएका पुनका बुवा अवकाश प्राप्त भारतीय सेना हुन् । उनका एक दाजु र दुई दिदी बहिनी छन् । २०७३ साल पुस ४ गते युवा संघका अध्यक्ष दुर्गा तिवारीको देवदहमा हत्या भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

२०७४ पुस २१ गते युवा संघका स्थानीय कार्यकर्ता वसन्त पौडेल ‘बलु’को हत्या भएपछि प्रहरीले उनको खोजी तिब्र बनाएको थियो ।  भारतको गुवामा बसेर उनले अपराधिक योजना बनाउने गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया