बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो–गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपालको पर्यटन क्षेत्रको विकासका लागि शेर्पा समुदायको महत्वपूर्ण भूमिका रहेकोले राज्यले यस समुदायका लागि  विशेष कार्यक्रम ल्याई कार्यान्वयन गरिनुपर्ने बताउनु भएको छ ।
शेर्पा संघ जापानले ग्याल्पो ल्होसार–२१४५ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा बिभिन्न सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष भट्टले नेपाली समाज विविध साँस्कृतिक विविधताको खानी भएकोले यसको उपयोग गर्दै आर्थिक उपार्जनमा लगाउनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालको आर्थिक क्षेत्रको ठूलो हिस्सा पर्यटन व्यावसायले धानेको र यस व्यवसायसँग शेर्पा समुदायको नजिकको सम्बन्ध रहेकाले राज्यले यसको विकासका लागि ठोस नीति ल्याई कार्यान्वयन गरिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शेर्पा समुदाय आफ्नो पहिचानका लागि एकजुट भई अगाडि बढ्न सकेमा मात्र आफ्ना हक अधिकारहरुलाई सुनिश्चित गर्न सक्ने बताएका थिए । साथै जापानमा रहेका नेपालीहरुबीच सौहार्दता र सामिप्यता बढाउनका लागि यस खालका कार्यक्रमले सहयोग पुरयाउने बताएका थिए । यसरी बोल्नेहरुमा आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा, मगर संघ जापानका किरण थापा, थकाली सेवा समाज जापानका अध्यक्ष बुद्धी गौचन, बिभिन्न प्रवासी संघ संगठनका प्रतिनिधि लगायत रहेका थिए ।
संघका अध्यक्ष लाक्पा गेलु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ल्होसार कार्यक्रममा कार्यक्रम संयोजक फुरलाक्पा शेर्पाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा टोकियोे क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय र गैर शेर्पा नेपालीहरुकोे उपस्थिति थियो ।
कार्यक्रममा शेर्पा संस्कृती झल्कने नृत्यका साथै नेपाली गीत संगीतका बिभिन्न प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । कार्यक्रममा गायक कर्म दोङ्गले आफ्ना बिभिन्न गीतहरुमार्फत सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए भने रक्षा भट्टराई र तितुङ लामाले पनि आकर्षक नृत्य प्रस्तुत गरी दर्शकको  ध्यान खिचेका थिए ।
त्यस्तै कलाकारहरु मिङमार शेर्पा, रिञ्जी शेर्पा, फुर्वा शेर्पा, याङ्जी शेर्पा, डोल्मा शेर्पा, दाली शेर्पा, पासाङ पी शेर्पा, एल सोनाम शेर्पा, साङ्मु शेर्पा, दावा सलाका शेर्पा लगायतको नृत्यले कार्यक्रमलाई थप रौनकता थपेको थियो । त्यसैगरी गायक विरेन्द्र विष्ट र विकास शेर्पाले पनि गीत गाएर कार्यक्रमलाई रमाईलो बनाएका थिए ।

तपाईको प्रतिक्रिया