शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – पछिल्लो समय मुटुरोगका कारण मृत्यु हुने मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हृदयाघातका कारण युवा अवस्थामै ज्यान गुमाउनेहरूको संख्यासमेत ठूलो छ । किन बढ्दै छन् त मुटुरोगी ? ग्रान्डी इन्टरनेसनलका मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले नयाँ पत्रिकाका विश्वास खड्काथोकीलाई बताएका छन् :

विशेष कारण
विशेषगरी मुटुरोग दुई कारणले हुन्छ, एउटा भित्री वा मुटुको भागमा समस्या सिर्जना भएर र अर्को बाहिरी क्रियाकलापले । भित्री कारण भनेको धड्कनसम्बन्धी समस्या, ब्लकेज आदि हुन् । र, बाहिरी कारण धूम्रपान, मध्यपान, कोलेस्ट्रोल, ब्लडप्रेसर बढ्नुलगायत हो । थाइराइड, सुगर, मोटोपना आदि कारणले पनि मुटुरोग हुन्छ ।

मुटुको पम्पिङ कमजोर हुने, चालमा गडबडीलगायतको समस्या आएमा त्यसलाई मुटुरोग भनिन्छ ।

रगतको कमी हुँदा पनि मुटु ढुकढुक हुने समस्या हुन्छ । उसो त थाइराइडका कारण पनि यस्तो हुन सक्छ । यी मुटुरोगका लक्षण हुन् । यो बुझ्न जरुरी छ कि लक्षण नै मुटुरोगचाहिँ होइन ।

वंशाणुगत कारण पनि मुटुरोग लाग्न सक्छ । यस्तो कारणले मुटुरोग लाग्नेलाई जन्मिनेबित्तिकै लक्षण देखिन्छ । तर, कसैकसैलाई भने ४०–५० वर्षको उमेरमा पनि मुटुरोग लाग्न सक्छ ।

मुटुको चाल अकस्मात् घटबढ हुने, पेसमेकर राख्नुपर्ने अवस्था सिर्जना भएमा पनि मुटुरोग लाग्छ ।

मुटुका मांसपेशीसम्बन्धी समस्याका कारण पनि मुटुरोग लाग्ने गर्छ । जसले गर्दा हार्ट फेलियर नै हुन्छ । मुटुको मांसपेशी कमजोर, रक्तसञ्चार अनियन्त्रित भएमा मुटु कमजोर हुन जान्छ र रोग लाग्छ ।

मुटुको भल्बसम्बन्धी समस्याका कारण पनि मुटुरोग लाग्ने गर्छ । भल्बले एउटा चेम्बरबाट अर्को चेम्बरमा सजिलै रगत जान दिने तर फर्किन नदिने काम गर्छ । भल्बमा समस्या आएमा यस्तो प्रक्रियामा असर पुग्छ । र, मुटुरोग लाग्न सक्छ ।

मुटुरोगको अर्को कारण डर र तनाव पनि हो । विशेषगरी महिलामा महिनावारी सुक्ने वेला आत्तिने, स्वाँस्वाँ हुने, पसिना आउने हुन सक्छ, जुन सस्या मुटुरोगको लक्षण पनि हुन सक्छ ।

ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ ग्रान्डी इन्टरनेसनल हस्पिटल

लक्षण
मुटु ढुकढुक हुने, मुटुको चाल छिनछिनमा गडबडी भएको अनुभूति हुने ।

स्वाँस्वाँ हुने । मुटुरोगीलाई खासगरी एक्सरसाइजको वेला अत्यन्त बढी स्वाँस्वाँ हुने गर्छ । हर्ट फेलियर भएका व्यक्तिलाई पनि यस्तो समस्या हुन्छ ।

मुटुरोग लागेमा खुट्टा, अनुहार, पेट सुन्निने हुन्छ ।

बेहोस हुनु पनि मुटुरोगको लक्षण हो । मानिस दुई कारणले बेहोस हुन्छ, एउटा छारेरोग र अर्को मुटुरोग । त्यसैले बेहोस हुनेबित्तिकै यसको पहिचान गर्न जरुरी हुन्छ । मुटुरोग भएमा निकै थकाइ लाग्छ, जुन असामान्य हुन्छ ।

१. अहिले मुटुरोगबारे मानिस निकै सचेत छन् । जसका कारण सामान्य रोग लागेको आवस्थामा पनि मुटुरोग भएको आकलन गरी जाँच गर्छन् । यसबारे निकै अनुसन्धान पनि भएका छन् र मुटुरोगसम्बन्धी डाक्टरको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । कसैको अचानक मृत्यु भएको अवस्थामा मुटुरोगको अड्कल गरिहाल्छन् । तर, पहिला–पहिला यस्तो घटना भइहाले पनि मुटुरोगले नै हो भन्ने पत्तो हुँदैनथ्यो ।

२. यसो भन्दैमा मुटुरोगीको संख्या बढेको छैन भन्नेचाहिँ होइन । हामीकहाँ पाश्चात्य संस्कृतिको विकास भएको छ । जसले गर्दा मानिसको लाइफस्टाइलमा पनि परिवर्तन आएको छ । धेरैले व्यायाम गर्दैनन् । २० वर्षपहिले र अहिलेको दैनिकीमा निकै परिवर्तन आइसकेको छ । अहिले बच्चाहरूमै सुगर, कोलेस्ट्रोल, उच्च रक्तचाप देखिन थालेको छ । त्यसैले मुटुरोगीको संख्या पनि ह्वात्तै बढेको छ ।

३. जति उमेर बढ्दै गयो, त्यति मुटुरोग लाग्ने सम्भावना हुन्छ । हाम्रो जस्तो विकासशील मुलुकमा महिला ५५ र पुरुष ४५ वर्षभन्दा बढी भएमा मुटुरोग लाग्ने सम्भावना अत्यधिक हुन्छ । पछिल्लो समय मानिस प्रविधिका कारण अलि बढी बाँच्ने गर्न थालेका छन् । जसले गर्दा पनि मुटुरोगीको संख्या बढ्न गएको छ ।

जानिराखौँ
मानिसले समयमै मुटुरोगको पहिचान गर्न सक्यो भने यसबाट सजिलै बच्न सकिन्छ । यति धेरै प्रविधिको विकास भइसकेको छ कि समयमै उपचार गराउन सकेमा जस्तोसुकै मुटुरोगीको उपचार सम्भव छ । समयमै उपचार नपाउँदा मात्र यसले भयावह स्थिति सिर्जना गर्ने हो ।

तपाईको प्रतिक्रिया