शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नेपालको ४१ औं प्रधानमन्त्री नियुक्त भएका छन् । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको झण्डै अढाई महिनापछि जनादेश प्राप्त दलले सरकार बनाउने अवसर पाएको हो । प्रतिनिधि सभामा सुविधाजनक बहुमत भएको वाम गठबन्धनका तर्फबाट ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । नयाँ सरकार गठनसँगै देशमा करिब दुई दशक लामो संक्रमणको पनि औपचारिक रूपमा अन्त्य भएको छ । तथापि, संक्रमणकालीन अवस्थाका न्याय सम्पादन सम्बन्धि जटिलताहरु भने अझै बाँकी नै छन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीलाई जनादेशअनुसार सरकार निर्माण गर्ने अवसर जुरेको छ, नेपाली राजनीतिमा यसप्रकारको अवसर धेरै कमलाई जुर्ने गरेको इतिहास छ । संविधान निर्माणपछि पहिलो प्रधानमन्त्री भएका ओली संविधानअनुसार संघीयताको कार्यान्वयनपछि पनि पहिलो प्रधानमन्त्री बन्ने संयोग उनैलाई जुरेको छ । नेपाली जनमानसमा स्थिरता र समृद्धिको भोक उच्च छ । स्थिर सरकार र समृद्धिको नारालाई नेपाली जनताले रुचाएकै कारण वाम गठबन्धनले सुबिधाजनक बहुमत हासिल गरेको तथ्य घामजस्तै छर्लङै छ । प्रदेश र स्थानीय सरकारमा पनि वाम गठबन्धनकै वर्चस्व भएकोले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा खासै समस्या हुने देखिँदैन ।

छिमेकी राष्ट्रहरुसंग सन्तुलित सम्बन्ध कायम राख्दै इमानदारीसाथ देश र जनताका हितमा काम गर्ने हो भने प्रधानमन्त्री ओलीका लागि देश बिकासमा छलाङ मार्ने यो उपयुक्त अवसर हो । नयाँ सरकारले विकास र समृद्धिलाई केन्द्रमा राखेर मुलुकमा व्याप्त विकृति तथा विसंगतिहरुको नियन्त्रणमा जोड दिन जरुरी छ । नेपाली समाजमा विद्यमान एक प्रकारको निराशा र अराजकतालाई चिर्दै प्रशासन संयन्त्रमा मौलाउँदै गएको भ्रष्टाचार र अनुशासनहीनताको स्थितिमा आमुल सुधारको खाँचो छ । नेपाली राजनीतिमा नैतिकताको खडेरी, नातावाद, कृपावाद, आर्थिक अनियमितता सबैतिर व्याप्त छ । यस्तो अवस्थामा मुलुकको सर्बोच्च बागडोर सम्हाल्ने अवसर पाएका प्रधानमन्त्री ओलीले सरकार गठनदेखि नै नेपाली जनतामा नयाँ सन्देश दिन जरुरी छ ।
नेपाली राजनीतिको विगतलाई हेर्ने हो भने सत्ता उन्मादले सरकार असफल साबित भएको उदाहरण प्रशस्त छन् । यही उन्मादमा जनताका अपेक्षालाई कुल्चने काम भयो भने मुलुकको लागि सबैभन्दा दूर्भाग्य हुने छ । देशमा अराजकता, अनियमितता र दण्डहीनताको अन्त्य गरेर लोकतान्त्रिक पद्धतिबाट विधिको शासन कायम गरी अनुशासित र भ्रष्टाचार मुक्त समाज निर्माण गर्नसके मात्र समृद्धिको दिशामा मुलुक अगाडि बढ्न सक्दछ । अवसरै अवसर प्राप्त प्रधानमन्त्री ओली नेतृत्वको कम्युनिस्ट सरकारले देशमा समृद्धिको ढोका खोल्नेमा आश्वस्त दिलाउनु पहिलो कर्त्तब्य हुने छ ।

स्थिर सरकारसहितको समृद्धि दिने संयुक्त घोषणापत्र जारी गरेर निर्वाचनमा अपेक्षित परिणाम हासिल गरेको सहयात्री दलसंग सरकार निर्माणपूर्व पार्टी एकता हुन नसक्नु दुःखद पक्ष हो । कमजोरी आ-आफ्नै होलान् तर पूर्वसहमति पालना नभएको भन्दै प्रधानमन्त्रीको सपथसंगै सहयात्री दल सरकारमा सामेल नहुँदा खल्लोपन महशुस हुनुका साथै नेपाली राजनीति फेरि अस्थिरतातर्फधकेलिन सक्ने आशंका र चिन्ता उब्जाएको छ । दोस्रोचोटी सत्तारोहण गर्दैगर्दा ठूलो दल हुनुको नाताले केही त्याग र समर्पणको भाव प्रकट हुन नसकेको सर्बत्र महशुस गरिएको छ । तथापि कुनै प्राविधिक वा अकल्पनीय कारणले बाधा नभए छिट्टै नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जनअपेक्षा छ । यस सन्दर्भमा बल अब संयुक्त सरकारको प्रधानमन्त्री बनिसकेका ओलीको कोर्टमा पुगिसकेकोले कम्तीमा पनि उनले नेपाली जनतालाई निराशा बनाउने छैनन् भन्ने विश्वास गर्न सकिन्छ । जनताको भोटसंग साटिएको वाचाअनुसार राजनैतिक स्थिरता र समृद्धिको सपना पूरा गर्न ओली सरकारलाई सफलता मिलोस्, शुभकामना ।***

तपाईको प्रतिक्रिया