बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशअनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्र दिवस–२०७४ का अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ, “हामीले प्राप्त गरेका उपलब्धिको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो ।”

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले यस दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

विसं २००७ फागुन ७ गतेका दिन निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ ।

प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा विसं २०४६ र २०६२÷६३ मा सफल आन्दोलन भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सबै आन्दोलनमा प्रतिविम्बित जनइच्छाअनुसार नै आज हामीले गर्वका साथ संघीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात÷अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा यस दिवसले हामी सबै नेपालीमा दिन सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया