बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – स–साना केटाकेटीका अभिभावक हुनुहुन्छ भने सन्तानको ड्रेसअपबारे कस्तो सोचाइ राख्नुहुन्छ ? साना केटाकेटी न हुन्, जस्तो भए पनि भइहाल्छ नि भन्ने धारणा राख्नुभयो भने तपाईं गलत हुनुभयो । साना बच्चाको जीवनमा पनि लुगाले ठूलो प्रभाव पापरिरहेको हुन्छ । शरीरमा सहज/असहज लाग्नेदेखि अरू केटाकेटीले लगाएको लुगाको प्रभाव तपाईंको सन्तानको दिमागमा परेको हुन्छ :

०  केटाकेटीको कपडा सफा गर्न कहिल्यै अल्छी नगर्नुहोस् । फोहोर कपडाले केटाकेटीको स्वास्थ्यमा त असर पार्छ नै, अरूको तुलनामा आफ्नो कपडा मैलो देख्दा साना केटाकेटीले पनि हीनताबोध गर्छन् । यसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि असर पार्छ ।

०  साना केटाकेटीलाई कपडा रोज्दा जिपर भएको सकेसम्म नलिनु उत्तम हुन्छ । केटाकेटीका लागि जिपर भएका कपडा जुनकुनै वेला जोखिमयुक्त हुन सक्छन् । हतारमा खोल्दा र लगाउँदा जिपरले शरीरका संवेदनशील अंग च्याप्ने र घाउ बनाउने खतरा रहन्छ । जिपर भएको प्यान्टले अन्जानमा अण्डकोष च्यापिदिन पनि सक्छ । त्यसैले इलास्टिक र टाँक भएकै कपडा बच्चाका लागि उपयुक्त हुन्छ ।

०  कतिपय अभिभावकको सोचाइ हुन्छ, बढ्ने उमेरका केटाकेटीलाई अलिकति ठूलै कपडा किनिदिए राम्रो हुन्छ । तर, यो सोचाइ गलत हो । शरीरमा ठूलो हुने कपडाले बच्चालाई हरपल असहज पैदा गरिदिन्छ । यताउति लत्रिने र फुस्किरहने ठूला कपडा सम्हाल्नु नै केटाकेटीका लागि तनावको विषय भइदिन्छ ।

०  शरीरमा टिपिक्क हुने साना कपडा पनि केटाकेटीका लागि राम्रो होइन । टिपिक्क कपडाले पनि उनीहरूलाई असहज नै बनाउँछ । शरीरमा नमिलेको कपडा लगाउँदा साथीभाइले समेत जिस्क्याउने भएकाले केटाकेटीलाई मानसिक तनावसमेत थपिन सक्छ । त्यसैले शरीरमा मिल्दो कपडा आफ्ना केटाकेटीलाई किनिदिनुपर्छ ।

०  केटाकेटीलाई मौसम र परिस्थितिअनुसार ड्रेसअप गराउनुहोस् । लगाएको कपडाले उनीहरूको शरीरमा शीतलता र न्यानोपन दुवै दिन सकोस् । बच्चाको स्वास्थ्य विचार गरेर कपडा लगाइदिनुपर्छ । त्यसो त परिस्थितिअनुसार पनि बच्चालाई फरक–फरक ड्रेसअप गराइदिन जान्नुपर्छ । कतिपय अभिभावक स्कुल ड्रेस लगाइदिएर बच्चालाई घुमाउन लैजान्छन् । यसले बच्चामा मानसिक असर पर्न सक्छ । किनभने, अन्य बच्चाहरू आउट ड्रेसमा घुम्न निस्किएका उसले देखिरहेको हुन्छ ।

सानु अमात्य, बालमनोविज्ञ

तपाईको प्रतिक्रिया