शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं –आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपविजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार साँझ स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलमा शनिबार राति ९ बजे क्यानका कार्यसञ्चालन अधिकृत छुम्बी लामा, पूर्व खेलकुदमन्त्री दलजीत शर्मा श्रीपाइलीलगायतले नेपाली टोलीको स्वागत गरेका थिए । नेपाली टोलीको स्वागतका लागि सरकारी निकाय तथा राष्ट्रिय खेलकुद परिषदका कुनै प्रतिनिधि विमानस्थलमा उपस्थित थिएनन् ।

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले विश्वकप छनोटमा स्थान बनाउनु ऐतिहासिक भएको भन्दै यो लय र जितको शृङखलालाई १५ दिनपछि सुरु हुने विश्वकप छनोटमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘एउटा स्टेजबाट अर्को स्टेजमा पुगेका छौं’, पारसले भने, ‘अझै राम्रो खेल्नु छ । चुनौतिहरु पनि छन् ।’ कप्तान पारसले प्रतियोगितामा युवा खेलाडीहरुको प्रदर्शनले भविष्यमा नेपाली क्रिकेटले आशाका संकेत देखिएको टिप्पणी गरे ।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले डिभिजन टू आफूहरुको लागि अविश्वसनीय भएको टिप्पणी गरे । ‘हामी अविश्वसनीय रुपमा डिभिजन टू को शीर्ष दुईभित्र रह्यौं’टमाटाले भने, ‘अझै पनि सुधार गर्नुपर्ने ठाउँहरु छन् । त्यसमा हामी काम गर्दै विश्वकप छनोटमा राम्रो खेल्नेछौं ।’ उनले पनि प्रतियोगितामा युवा खेलाडीहरुको प्रदर्शन प्रसंशायोग्य रहेको बताए ।

प्रतियोगिताका म्यान अफ द सिरिज सन्दीप लामिछानेले नामिबियामा राम्रो प्रदर्शन भएको र विश्वकप छनोटमा अझै राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । ‘डिभिजन टू मेरा लागि अविस्मरणीय रह्यो’, सन्दीपले भने ‘यो लयलाई विश्वकप छनोटमा पनि जारी राख्ने प्रयास गर्नेछु ।’

क्यानडाविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनोटमा पु¥याएका करण केसीले त्यस खेल स्मरण गर्दै अन्तिम ओभरसम्म टिक्न पाए खेल जिताउँछु भन्ने आत्मविश्वास रहेको बताए । ‘अन्तिम ओभरसम्म खेल लैजान पाए खेल जिताउँछु भन्ने लागेको थियो । त्यसै अनुसार सम्हालिएर खेलेँ’ केसीले भने, ‘सन्दिपले पनि राम्रो साथ दियो ।’

६ राष्ट्रका टोलीहरु सम्मिलित प्रतियोगितामा शीर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले एकदिवशीय विश्वकप छनोटमा सहभागिता निश्चित गरेको थियो भने पुनः डिभिजन वानमा उक्लिएको थियो । नेपाली टोली डिभिजन टू को फाइनलमा युएईसँग ७ रनले पराजित भएपछि उपविजेता बनेको हो ।

स्वदेश फर्किएलगत्तै नेपाली टोली प्रशिक्षणमा व्यस्त रहने बताइएको छ । सन् २०१९ मा इंग्ल्याण्डमा हुने आइसीसी एकदिवशीय विश्वकपका लागि छनोट प्रतियोगिता आगामी फागुन २० गतेदेखि सुरु हुँदैछ । नेपाल त्यस प्रतियोगिताको समूह बी मा छ ।

जिम्बाबेको हरारेमा फागुन २० गते पहिलो खेल नेपालले घरेलु टोलीसँग खेल्नेछ । त्यस्तै फागुन २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष ३ भित्र पर्न सके नेपाल ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछ भने एकदिवशीय मान्यता पनि पाउनेछ । वेष्ट इण्डिज, आयरल्याण्ड, अफगानिस्तान, जिम्बाबेजस्ता टेष्ट मान्यताप्राप्त टोलीहरु सम्मिलित प्रतियोगिताको शीर्ष दुईभित्र अटाउने टोलीले विश्वकपको अन्तिम चरणमा छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया