पार्टी एकता टूंगो नजिक : प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो

काठमाडौं – एकता प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रबीच पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । यसलाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समितिको बैठक बुधबार अबेरसम्म जारी रहेको संचारमाध्यमहरुले जनाएका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ताहरुमा आफूहरुबीच भएको सहमतिबारे संयोजन समितिलाई जानकारी गराएका छन् ।
त्यसअघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा-छुट्टै बैठक बसेका थिए ।

दुबै दलका नेताहरुले बताए अनुसार एकतापछि पार्टीमा प्रचण्ड र ओलीको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् ।

एमाले र माओवादीबीच ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले बताएका थिए ।

स्रोतका अनुसारएमाले अध्यक्ष ओली सुरुमा प्रधानमन्त्री हुनेछन् र उनको कार्यकाल तीन वर्ष हुनेछ । बाँकी दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री हुने एमालेको प्रस्ताव रहेको बुझिएको छ ।

विचार र संगठनबारे गृहकार्य गर्न भने दुई छुट्टाछुट्टै कार्यदल बनाउने सहमति भएको बताईएको छ ।

स्रोतका अनुसार सम्भवतः केन्द्रीय कमिटी ९९, पोलिटब्यूरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुनेछ । पछिल्लो जानकारी अनुसार प्रधानमन्त्री र राष्ट्रपती एमालेले र उपराष्ट्रपति र सभामुख माओबादी केन्द्रले पाउने भएका छन । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित