इङ्गलिस प्रिमियर लिग: न्यूकासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई हरायो

काठमाडौं – इङ्गलिस प्रिमियर लिग फुटबलमा न्यूकासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई १-० ले हराएको छ ।

गएराति न्यूकासल युनाईटेडको मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन म्याट रिचीले निर्णायक गोल गरे । गएरातिको हारसँगै न्युकासलको मैदानमा पहिलो जित हात पार्ने म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरिन्होको सपना अपुरै रह्यो ।

मौरिन्होले प्रशिक्षकको रुपमा उक्त मैदानमा एउटा पनि खेल जितेका छैनन् । गएराति भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-० ले हरायो । लिभरपूलका लागि रोबर्टो फर्मीनो र मोहोमद सालाहले १-१ गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा हडर्सफिल्ड टाउनले बर्नमाउथलाई ४-१ ले हरायो । गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ७२ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।

५६ अंकको म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ५४ अंक छ । ५२ अंक जोडेको टोटनह्याम चौथो स्थानमा रहँदा एक खेल कम खेलेको चेल्सी ५० अंकसहित पाँचौ स्थानमा छ । चेल्सीले आज राती वेष्ट ब्रोमसँग खेल्दैछ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित