शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – पण्डित आनन्दमणि–टुल्की, नन्दकला स्मृति प्रतिष्ठान काठमाडौंले साहित्यकार रमेश शुभेच्छुलाई पुरस्कृत गरेको छ ।

स्याङजा फापरथुमका शिक्षासेवी पण्डित आनन्दमणि ढकाल र उनको परिवारका नाममा उनका सुपुत्र पूर्वमन्त्री त्रिलोचन शर्मा ढकाललगायत परिवारले कोष जुटाएर स्थापना गरेको प्रतिष्ठानले शिक्षा र साहित्य क्षेत्रलाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिष्ठानले स्याङ्जा जिल्लाका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने शिक्षासेवाका साथै प्रत्येक दुई वर्षमा एक विशिष्ट साहित्यकारलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पाँचथरका साहित्यकार कवि एवम् समालोचक रमेश शुभेच्छु सम्मानित हुनुभएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुभेच्छुलाई ताम्रपत्रसहित १५ हजार राशीको पुरस्कार प्रदान गर्नुभयो । प्रमुख अतिथि उप्रेतीले शुभेच्छु जस्ता प्रतिभा छनोट गर्न सकेकामा संस्थालाई धन्यवाद दिँदै शुभेच्छुले अनेक संघर्षका साथ पाँचथरबाट इलाम हुँदै काठमाडौं आएर आफूलाई यस सफलताका बिन्दुसम्म पुर्याएको बताउनुभयो ।

प्राध्यापक दिनेशराज पन्तले शुभेच्छुसँग नेपाल प्रज्ञाप्रतिष्ठानका गौरवमय साठी वर्ष पुस्तक लेखन गर्दाको अनुभव सुनाउँदै शुभेच्छुको सम्मान हुनु आजको युवा पुस्ताको सम्मान भएको चर्चा गर्नुभयो ।

डाक्टर अशोक थापाले शुभेच्छु बाल साहित्य, कविताकाव्य सिर्जना, समीक्षा, संगठन, संघसंस्थासँग संलग्न भएर लागिरहेको र उनको मूल देन कविता विधामा र त्यसमा पनि शास्त्रीय कवितामा रहेको बताउनुभयो ।

शुभेच्छुका कविता, काव्य, महाकाव्य, समालोचना, बालसाहित्य, सम्पादन र पाठ्यपुस्तक गरी चार दर्जनअधिक कृतिहरु प्रकाशित छन् । साहित्य सिर्जना समीक्षा, सङ्गठन, साहित्यिक पत्रकारिता आदिमा सक्रिय शुभेच्छुलाई यो पुरस्कार पहिलोपटक स्याङ्जा जिल्लाभन्दा बाहिर प्रदान गरिएको र अब यसलाई राष्ट्रिय स्तरमा विकास गर्ने जानकारी प्रतिष्ठानका संरक्षक पूर्वमन्त्री त्रिलोचन ढकालले दिनुभयो ।

कार्यक्रममा पुरस्कृत प्रतिभा शुभेच्छुले यस पुरस्कारले आफूलाई विचलित नभई साहित्य सिर्जनामा लागिरहने अभिप्रेरणा मिलेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया