शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – नेपालीहरुको घना बस्ती भएको गुन्माकेनको ओता सिटीमा रहेका बिदेशीहरुलाई लक्षित गरी एक दिवसीय निःशुल्क स्वास्थ्य प्रशिक्षण शिविर हुने भएको छ ।
आउँदो फेब्रुअरी २५ तारिख आइतवारका दिन हुने सो शिविरमा जापानी, अंग्रेजी, नेपाली, हिन्दी, भियतनामी, फिलिपिन्स, पोर्तुगल र स्पेन भाषाका दोभासेहरुको ब्यवस्था हुने आयोजक संस्था जापानमा प्रवासी नेपालीहरुका लागि सूचना प्रवाह नेटवर्क (IDNJ) ले जनाएको छ ।

शिविरमा ओता सिटीका स्वास्थ्य कार्यकर्ता स्रोत ब्यक्तिकारुपमा रहने बताईएको छ ।

अपरान्ह १:३० बजेबाट १६:३० बजेसम्म हुने सो कार्यक्रम गुन्मा केन ओता सिटीको किनरो सेइस्योनेन होममा हुने जनाईएको छ ।  शिविरमा सहभागी हुन इच्छुकहरुले सोही दिनको अपरान्ह १ बजेसम्म नाम दर्ता गराउन आयोजक संस्थाले अनुरोध गरेको छ ।

शिविर चिकित्सकहरुबाट गरिने निःशुःल्क स्वास्थ्य परिक्षण नभएकोले भ्रममा नपर्न पनि अनुरोध गरिएको छ । यद्यपि स्वास्थ्य समस्या सम्बन्धि केही सोधपुछ गर्नुपर्ने भएमा आफ्नो स्वास्थ्य बिमा (होकेन), पछिल्लो स्वास्थ्य परिक्षणको रिपोर्ट, सेवन गरिएका औषधीहरुको रेकर्ड बुक लिएर आउन भनिएको छ ।

सो दिनमा आउने सहभागीहरुका स-साना बालबालिकाहरुको हेरचाहका लागि छुट्टै कोठा र ब्यवसायिक स्वयमसेवकहरुको पनि ब्यवस्था गरिएको छ । तर उक्त सुबिधा लिन २० तारिखभित्र नाम दर्ता गराउन भनिएको छ ।
उक्त कार्यक्रममा सोलिडारिटी नेट वर्क विथ माइग्रेन्ट्स इन जापान (एसएमजे) चुओ लेबर बैंकको प्रायोजन रहने आयोजक संस्थाकी प्रा. डा. तानाका मासाकोले समुद्रपारिलाई बताईन् ।

शिविरमा सहभागी हुन आउनेहरुले संभव भएसम्म जापानी भाषा बुझ्ने साथीहरु संगै लिएर आउन पनि आयोजक संस्थाले अपील गरेको छ ।***

तपाईको प्रतिक्रिया