मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टोकियो – आफ्नो र परिवारको सुख र समृद्धिका खातिर उज्वल भविष्यको सुनौलो सपना बोकेर जापान आएका एक नेपाली युवा विगत १६ महिनादेखि अस्पतालको कोमामा अचेत अवस्थामा छन् ।
सन् २०१६ को अक्टुबर महिनामा कुककारुपमा जापान आएका पोखराका रामबहादुर खत्री जापान टेकेको दुई हप्तामै आफ्नै लापर्वाहीका कारण गम्भीर प्रकृतिको सडक दुर्घटनामा परी लामो समयदेखि कोमामा रहँदै आएका हुन् ।

दुर्घटना कसरी भयो ?
नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचनका अनुसार तत्कालिन अवस्थामा गुन्माकेनको ओईजुमीमाचीमा बस्दै आएका ३२ वर्षीय खत्री २०१६ अक्टुबर १८ को दिन नजिकैको पार्कमा बसेर साथीहरुसंग ड्रिंक गरेको र नशाको तालमा पार्कछेउको रोडको बिच भागमा सुतेर फोनमा कुरा गरीरहेको अवस्थामा उनलाई गाडीले किच्नुका साथै करीव १० मीटर परसम्म लतारेपछि उनी शारीरिकरुपले क्षतविक्षत हुन पुगेका हुन् । एम्बुलेन्स बोलाई तत्कालै उनलाई नजिकको ओता मेमोरियल अस्पतालमा पुर्‍याएर आइसीयुमा राखेर उपचार सुरु गरिए पनि उनको शरीरका धेरैजसो भाग पूर्णरुपले क्षती भईसकेको कारण उनको स्वास्थ्यमा सुधार आउन सकेन, करीव एक महिनाको निरन्तर प्रयासपछि ढुकढुकी प्राणसहित उनी अर्धजीवित अवस्थामा रहेको अस्पतालले प्रमाणित गरेको थियो । उनले सँधैका लागि होश गुमाएका छन् । पाइपको सहाराले नाकबाट तरल खाद्यान्न आपूर्ती गरेर खत्रीको प्राणको रक्षा गर्दै आईरहेको र उनी पुरै अर्धजीवित अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ । कतिखेर कतिखेर आँखा हेरेपनि उनले मान्छे चिन्दैनन् र बोल्न पनि सक्दैनन् ।

उनको सहयोगका लागि के के पहलहरु भए त ?
जीवनमरणको दोंसाधको अवस्थामा पुगेका खत्रीलाई न्याय दिलाउनका लागि उनलाई जापान ल्याउने रेष्टुरेन्टका मालिकबाट अपेक्षित सहयोग नभएपछि नेपाली साझा समाजले कानुनी उपचारका लागि तत्कालै सम्बन्धित निकायहरुमा पहलकदमी थालेको थियो । जसअनुसार कानुन ब्यवसायीहरुको सहयोग लिएर सम्बन्धित निकायमा क्षतीपूर्तीको दाबीसहित न्यायको लागि उजुरी टेबुल गरेको र उक्त कार्यका लागि आवश्यक परेको बेलामा भाषानुवादको भूमिका निर्बाह गर्दै आईरहेको उक्त समाजका अध्यक्ष शेरचन बताउँछन् ।
यसैगरी घटना भएको करीव ३ महिनापछि रेष्टुरेन्टको मालिकले खत्रीकी श्रीमतीलाई भिजिट भिसामा जापान बोलाएको र ३ महिनाको भिसा सकिएपछि थप्न नमिलेकोले शरणार्थीमा आबेदन गरेको भए पनि पछि अस्पतालको सहयोगमा बिशेष भिसा दिलाईएको छ । जापानको नियमअनुसार कानुनी उपचारका बिभिन्न प्रक्रियाहरु अगाडि बढाएकै कारण हालसम्म बिरामीकी श्रीमतीले दैनिक जीवनयापन खर्चका लागि बिमा कम्पनीबाट १५ लाख (१५० मान) येन रेष्टुरेन्ट मालिकको खातामा आईसकेकोमा जसमध्य ६ लाख ५० हजार (६५ मान) उनले पाईसकेकीछिन् भने बाँकी रकम दिन रेष्टुरेन्ट मालिककले आनीकानी गरिरहेको शेरचनले बताए ।
यसैगरी बिरामीको उपचार खर्च बापत बिमा कम्पनीबाट ४ करोड (४ हजार मान) येन निकासा भईसकेको छ । उक्त रकम पीडितको पक्षबाट काम गर्ने कानुन ब्यवसायीको खातामा निकासा भएको भए पनि बिरामीको खातामा ट्रान्सफर गर्ने प्रक्रिया भईरहेको छ ।
यसैबीच बिरामीको भिसा सकिएको र साबिकैको कुक भिसा थप गर्न सोही अनुसारको काममा संलग्न नभएको अवस्थामा उत्पन्न कानुनी अड्चनलाई समाधान गर्न अस्पतालको सहकार्यमा बिशेष भिसा दिलाईएको बिरामीका कानुनी सहयोगीहरुले बताएका छन् ।
उपचार खर्चबाहेक पीडकको बिमाबाट पाउनुपर्ने सडक दुर्घटनाबाट भएको क्षतीपूर्तीको रकम भने अझै प्राप्त भएको छैन । सम्बन्धित अदालतमा केश प्रक्रियामै रहेको भए पनि यसको छिनोफानो हुन अझै ५, ६ महिना लाग्न सक्ने पीडितको पक्षमा काम गर्दै आईरहेका कानुन ब्यवसायीहरुले बताउने गरेका छन् ।
सडक दुर्घटनाको नियमअनुसार पीडकको बिमा कम्पनीबाट पीडितले क्षतीपूर्ती बापत ठूलो धनराशी पाउनुपर्ने उनीहरुले दावी गर्दै आएका छन् । क्षतीपूर्ती रकम प्राप्त भएपछि मात्र अर्धजीवित अवस्थामा रहेका बिरामी खत्रीलाई नेपाल लैजान सकिने सुझाव उनीहरुको छ ।

टाँठाबाठा नेपालीहरुको बढ्दो चलखेल
सडक दुर्घटनामा परेका नेपालीहरुको उद्वार गर्ने नाममा आफुलाई समाजसेवी भन्न रुचाउने केही टाँठाबाठा नेपालीहरुले अनावश्यक चासो देखाई चलखेल गर्ने गरेको अध्यक्ष शेरचनको आरोप छ । आत्महत्या जस्ता घटनामा कमै चासो लिने ती टाँठाबाठाहरु सडक दुर्घटनाका घटनामा भने आफै चासो राख्दै अनावश्यक हस्तक्षेप गर्ने गरेको गुनासो शेरचनको छ । यसको मुख्य कारण भनेको क्षतीपूर्तीबापत आउने आकर्षक रकममा ध्यान गएको हुन सक्ने शेरचनको दावी छ । यस्ता घटनामा उनीहरुले पेशेवर जापानीहरुको सहयोग लिने गरेको शेरचनको जिकिर छ ।

’खत्रीको सडक दुर्घटना प्रकरणमा पनि केही टाँठाबाठाहरु बिरामी खत्रीको घर पोखरासम्मै पुगेर उनका बाउआमालाई भेटेर सबै तजबिज आफुहरुले मिलाएको र अब पनि क्षतीपूर्ती दिलाउने लगायतका सबै कुरा मिलाउन आफुहरु लागिपरेको ढाडस दिएर बिरामीलाई जतिसक्दो छिटो नेपाल झिकाउन दबाब दिएर आएको बुझिएको छ’ – शेरचनले भने – ’जब कि बिरामीको सबैभन्दा नजिकको मान्छे श्रीमती जापानमै छिन् र उनले नेपाली साझा समाज बाहेक कोही कसैलाई सहयोगका लागि हारगुहारको याचना गरेकी पनि छैनन् र कसैलाई चिन्दा पनि चिन्दैनन् ।’

‘कानुनी उपचारका लागि नेपाली साझा समाज जापान, मेरै भिनाजु, कानुन ब्यवसायी जापानीहरु लगायत सबैबाट आवश्यक सबै सहयोग पाईरहेकै छु’ – बिरामी खत्रीकी श्रीमती कल्पनाले भनिन् – ’अन्यत्र हारगुहार गर्नुपरेको छैन, कसैलाई गरेकी पनि छैन । तर केही मान्छेहरु खोई किन हो त्यतिकै अस्वभाविक सक्रियता देखाईरहेका छन् मैले केही बुझ्न सकेकी छैन ।’

नियम अनुसार पाउनुपर्ने क्षतीपूर्ती नपाउँदासम्म आफु बिरामी लिएर नेपाल नजाने अडानमा रहेकी कल्पनाले आफ्नो वकिलले पनि बिरामी नेपाल फिर्ता लगेपछि यता पाउनुपर्ने क्षतीपूर्ती पाउन गाह्रो पर्ने भएकोले त्यसो नगर्न सल्लाह दिदैं आएको बताईन् । जापान आएलगत्तै उनले पीडितलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न नेपाली साझा समाजलाई अनुरोध गर्दै आएको र सो अनुसारको सहयोग पाईरहेको उनले बताईन् ।

यस घटना बारे जापानको टोकियोस्थित नेपाली राजदूतावासलाई पनि जानकारी गराईएको अध्यक्ष शेरचनले बताए ।

अर्काको देशमा आएर सामान्य भन्दा सामान्य नियमको पनि पालना नगर्दा खाउँ-खाउँ, लाउँ-लाउँ भन्ने उमेरका खत्रीले आफ्नो सुन्दर जीवन मात्रै बर्बाद गरेनन्, श्रीमती, १३, १४ वर्षका २ छोराहरु, बृद्धा बाबुआमा समेतलाई जीवनभरिलाई पुग्ने पीडाको भारी बोकाएर आफु आइसीयुको चिरनिद्रामा छन् । न त उनी ब्युँझेर पहिलेकै अवस्थामा फर्कन सक्ने संभावना छ, न त उनको शरीरबाट प्राणपखेरु उडिसकेको छ । न त निर्जिव न त सजिव नै भन्न मिल्ने, जीवन र मरणको दोसाँधमा छन् अहिले पोखरेली युवा खत्री ।***

तपाईको प्रतिक्रिया