घरको छतमाथि गुड्छन् रेल र मोटर, यस्तो छ चीनको विकास

बेइजिङ –  भौतिक पूर्वाधार विकासमा चीनले धेरै प्रगति गरिसकेको छ । सिसाको पुल निर्माण गर्नेदेखि लिएर लिकविना नै रेल गुडाउनेसम्मका संरचना निर्माण गरेको चीनले घरभित्र र छतमाथिबाट सार्वजनिक यातायातका लागि बाटो खोलेको छ ।

त्यसो त, चीनमा अन्तर्राष्ट्रिय संचारमाध्यमका लागि समाचार संकलनमा त्यति सहज छैन । धेरै यस्ता स्थान छन्, जहाँ स्वतन्त्रतापूर्वक विदेशी संचारमाध्यमलाई समाचार संकलनका लागि छुट दिइदैंन ।

त्यसैले यस्ता विकास निर्माणका समाचारमा समेत चिनियाँ सामाजिक संजाल वा चिनियाँ सरकारी समाचार एजेन्सीकै भर पर्नु पर्दछ । हालै एउटा तस्वीर भाइरल भएको छ, जसमा घरको छतमा सडक बनाइएको देखिन्छ । सडकमा केही कार पनि छन् ।

चीनको चोङ्गकिङ्ग सहरमा घरको छत मै सडक बनाइएको हो । घरको छतमाथि बनाइएको सडकबाट सवारी साधन गुडेका तस्वीर चिनियाँ सामाजिक संजालमा भाइरल भएको छ ।

तस्वीरबारे सामाजिक संजालमा विभिन्न प्रतिक्रिया पनि आएका छन् । कसैले सडकमुनी रहेको घरमा बस्दै आएका मानिसलाई कसरी निन्द्रा लाग्दो हो भनेर कौतुहलता व्यक्त गरेका छन् भने कसैले सडकलाई नै थेग्ने घर कति बलियो होला भनेर उत्सुकता प्रकट गरेका छन् ।

यही सहरमा एउटा फ्लाइओभरको तस्वीर पनि निकै भाइरल भएको छ । व्यस्त सडकमा सवारी साधनलाई व्यवस्थित यात्राका लागि यो फ्लाइओभर निर्माण गरिएको हो । फ्लाइओभरमा १५ अलग–अलग लेनका बाटो छन्, जो आठ दिशातिर जान्छन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित