बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो/डेरा कहाँ खोज्ने । संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन् ।

‘बुटवलमै दुई–चारवटा फ्ल्याट हेरेँ, निकै महँगो रहेछ’, सोमबार प्रदेश प्रमुखको कार्यालयमा भेटिएका बलालले भन्नुभयो, ‘नयाँ गाउँ÷बेलबासतिर गएर फ्ल्याट लिँदै छु।’ संसद् बैठक सुरु भएपछि केही दिन बिदा नमिल्ने भएकाले पनि बाहिरी जिल्लाका सांसदलाई आवास अनिवार्य छ।

नवलपरासी, कपिलवस्तु र पाल्पासम्मका सांसद घरबाटै आउजाउ गर्नसक्ने सम्भावना भए पनि बुटवलमै बस्ने गरी डेरा खोज्दै छन् । बुटवलमा काठमाडौंमा जस्तो सहजै फ्ल्याट नपाइएको सांसदहरू बताउँछन् ।

बुटवल अस्थायी मुकाम हो। संसद्को दुईतिहाइ मतले मात्रै स्थायी मुकामको टुंगो लाग्छ । तर, धेरैजसो सांसद अब स्थायी केन्द्र पनि बुटवलमै हुने विश्वाससाथ बसोवासको व्यवस्था गर्दै छन् ।

प्रत्यक्ष र समानुुपातिक गरी रुपन्देहीका २० जनाबाहेक ६७ जनाका लागि बुटवलमा डेरा आवश्यक छ ।

कार्यालय खोज्दै कर्मचारी

प्रदेश प्रमुखका लागि सचिवालय व्यवस्थापन भए पनि अन्य प्रशासनिक भवनको अझै टुंगो लागिसकेको छैन । जिल्ला प्रशासन, भवन डिभिजनलगायत कार्यालयका प्रमुखहरू प्रदेशका लागि आवश्यक पूर्वाधार जुटाउनमै व्यस्त छन् ।

प्रदेश सचिव सनत डुवाडीले प्रदेश प्रमुखको आवाससहित थप कर्मचारी आएपछि कार्यालय व्यवस्थापन प्रक्रिया चलिरहेको बताउनुभयो । स्थानीय प्रशासनको सरसल्लाहमा भवनको व्यवस्थापन हुँदै छ’, उहाँले भन्नुभयो, ‘कर्मचारी आइपुग्दासम्म व्यवस्था मिल्छ।’

मुख्यमन्त्री र संसद्को कार्यालय व्यवस्थापन अझै भइसकेको छैन । प्रदेश प्रमुख उमाकान्त झाका लागि भने रुपन्देही व्यापार संघको भवन प्रयोग गरिएको छ तर आवास व्यवस्थापन भएको छैन ।

बुटवलमै रहेको सडक डिभिजनको अतिथि कक्षमा प्रदेश प्रमुख झा र सचिव दवाडी बसिरहेका छन् । पहिलो बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेल भने निजी निवासमै छन् ।

तपाईको प्रतिक्रिया