शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानको नेपाली समुदायलाई लक्षित गरी विगत लामो समयदेखि प्रकाशन हुँदै आएको नेपाली समाचारका वार्षिक ग्राहक बन्ने भाग्यमानी पाठकलाई नेपाल जाने आउने हवाई टिकट उपहार प्रदान गरिने भएको छ ।
जापानमा प्रकाशित हुँदै आएको एक मात्र र पहिलो नेपाली भाषाको पत्रिका नेपाली समाचारको वार्षिक ग्राहक बन्ने पाठकलाई हवाई टिकट उपहार योजना बजारमा ल्याईएको प्रकाशक संस्था जिएमटी इन्टर्नेशनल कम्पनीका प्रवन्ध निर्देशक डा. भूपालमान श्रेष्ठले बताउनुभयो ।

नयाँ वर्षको उपलक्ष्यमा बजारमा ल्याईएको उक्त उपहार योजना यही जनवरी १५ देखि मार्च १४ सम्म दुई महिनाको अवधिमा वार्षिक ग्राहक बन्ने पाठकहरुको हकमा लागु हुने बताईएको छ । उक्त अवधिमा वार्षिक ग्राहक बनेका पाठकहरु मध्यबाट भाग्यमानी १ जनालाई उक्त उपहार प्रदान गरिने भएको छ । वार्षिक ग्राहक बनेबापत पाठकलाई घरघरमै हुलाकबाट पत्रिका पठाईने गरिएको छ । पत्रिका निःशुल्क भएपनि हुलाक खर्चबापत वार्षिक ग्राहक शुल्क ५ हजार येन रहेको छ ।
उक्त उपहार योजना जापानमा लामो समयदेखि हवाई टिकेटिङ सेवामा क्रियाशील नम्वर वन ट्राभलले प्रायोजन गरेको छ । यसका साथै सो ट्राभलमार्फत नेपाल जाने नेपाली समाचारका वार्षिक ग्राहक बनेका हरेक पाठकलाई त्रिभुवन विमानस्थलदेखि उपत्यकाभित्रका गन्तब्यसम्म निःशुल्क यातायातको सुबिधा उपलब्ध गराउने नम्वर वन ट्राभलका कार्यकारी निर्देशक रञ्जन दासले समुद्रपारिलाई बताउनुभयो ।

सन् १९९९ को फेब्रुअरी महिनादेखि जापानमा नेपाली समाचार निरन्तर प्रकाशित हुँदै आईरहेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ यस पत्रिकाका संस्थापक प्रधानसम्पादक हुन् । जापानको सबै साना ठूला सहरमा रहेका नेपालीहरुबीच बितरण हुँदै आएको यस पत्रिकामा जापानका महत्वपूर्ण समाचारहरुका साथै नेपाली गतिबिधि र नेपालका मुलधारका समाचारहरु समेट्ने गरिएको पत्रिकाका सम्पादक भूषण घिमिरेले बताउनुभयो ।

नेपाली समाचारको सहप्रकाशनकोरुपमा सन् २००६ देखि अनलाईन संस्करण समुद्रपारि डट कम प्रकाशनमा छ । बिशेषगरी जापानबासी नेपालीहरुलाई लक्षित गरी छापा हुँदै डिजिटल प्रकाशन, अनलाईन रेडियो र टेलिभिजन सामाग्री उत्पादन सम्मको यात्रामा थुप्रै आरोह अवरोह पार गर्दै सूचना र सञ्चारको सेवामा निरन्तर लागिपर्दै आएको प्रकाशक कम्पनीका अध्यक्ष समेत रहेका प्रधान सम्पादक तिलक मल्लले बताउनुभयो । विदेशमा आफ्नै भाषामा नियमित पत्रिका प्रकाशन कार्य अत्यन्त चुनौतीपूर्ण रहेको भएता पनि जापानबासी नेपाली पाठकहरुको न्यानो सहयोग र समर्थनका कारण सूचनाको सेवाका साथै प्रवासमा नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको बिकास, बिस्तार र संबर्द्धनमा योगदान पुर्‍याउन सकिएको उहाँले बताउनुभयो ।

जापानको ब्यस्त दैनिकीलाई मध्यनजर राख्दै समसामयिक सटिक समाचार र सूचनामुलक जानकारी यस पत्रिकाको बिशेषता रहेको सहसम्पादक ऋतुकुमार दुरा बताउनुहुन्छ । विष्णु सुबेदी ’निशान’ वेभ तथा ग्राफिक्स डिजाइनर रहेको यस प्रकाशन टिमलाई केही ब्यवसायिक पत्रकारहरु रहेको नेपाल ब्यूरोले सघाउँदै आईरहेको छ ।***

तपाईको प्रतिक्रिया