शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले राजनीतिक स्थिरतामार्फत विकास र समृद्धिका लागि वामपन्थीमार्ग रोजेका छन् । राजनीतिक आन्दोलनका नाममा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र लगायतका शब्दावलीमा मात्र परिवर्तन हुने राज्य व्यवस्थाले प्रत्यक्ष रूपमा जनताका दैनिक जीवनमा अनुभूत हुने गरी परिवर्तन हुन नसक्दा दशकौंदेखिका उनीहरुको अपेक्षा चुलिएका छन् । नेपालको राजनीतिक इतिहासमा पटक पटक स्पष्ट र दुई तिहाई बहुमत पाएर पनि नेपाली काँग्रेसबाट जनताका आशा र अपेक्षा परिपूर्ति हुन नसकेको ठहर गर्दै नेपाली जनताले यसपाली वामपन्थी दलहरूलाई राज्य सञ्चालनको जिम्मेवारी दिएका छन् ।

वामपन्थी चुनावी गठबन्धन र त्यसले प्राप्त गरेको अनुमोदनका कारण माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता अनेकौं आशंका र जटिलताको वीचमा पनि अनिवार्य जस्तै भएको छ । यी दुई ठूला कम्युनिष्ट पार्टीका नेताहरूको व्यवस्थापन यतिबेला नेपाली राजनीतिको सबैभन्दा पेचिलो र चासोको विषय बनेको छ । नेता र नीति व्यवस्थापनको विषय मिल्न नसकेर कतै यो पार्टी एकता नै धरापमा पर्ने त होइन भन्ने आशंका पनि नभएका होइनन् ।

बहुदलीय प्रतिष्पर्धा स्वीकार गरेर आफैले जारी गरेको संविधानबाट समृद्धि सम्भव छ र यसका लागि बहुमत प्राप्त स्थिर सरकार बनाउने प्रमुख मुद्दा मिलेपछि एकैठाउँमा उभिन आईपुगेका यी दुई दल आग्रह पूर्वाग्रहबाट माथि उठेर पार्टी एकता सहित पाँच बर्षका लागि स्थिर सरकार दिन सक्नुपर्दछ । अनि मात्र जनताको वाम सरकार र यसले ल्याउने अपेक्षा गरिएको विकास र परिवर्तनको ठोस परिक्षण समेत हुनेछ । वाम सरकार आम नेपाली जनताको पक्षधर एवं प्रतिनिधिमुलक सरकार पनि हो । त्यसकारण संविधानमा उल्लेख गरिएको समाजबाद उन्मुख अर्थ राज्यव्यवस्थाको बलियो जग बसाउने यतिबेला उपयुक्त अवसर पनि हो ।

नेपालका वाम शक्तिहरुले नेपाली जनता समक्ष विकास र समृद्धिको सपना धेरै बाँडेका छन् । अहिलेसम्म अस्थिर सरकार भएकाले गर्न सकिएन भन्दै उम्किने आधार थियो, तर अब त्यो छुट उनीहरुलाई पटक्कै हुने छैन । अब विकास र समृद्धिको काम नगरी उनीहरुलाई सुखै छैन । जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने गरी विकास निर्माणका काम र मुलुकको समृद्धिको लागि ठोस कदम चाल्नैपर्ने छ । भाषणमा मात्रै सम्भावना देख्ने वाम नेतृत्व समक्ष अब काम गरेर देखाउने बेला आएको छ । यदि यो अवसर उनीहरुले गुमाए भने फेरि यस्तो अर्को अवसर पाउने संभावना रहने छैन । तसर्थ सम्बन्धित सबैपक्षसंग असल सम्बन्ध कायम गरी सबैको सहयोग र सहकार्यमा जनअपेक्षा अनुसार विकास, शान्ति र समृद्धिको क्षेत्रमा देखिने गरी ठोस काम गरेर देखाउनुपर्ने अनिवार्य सर्त वाम सरकारसामु छ । ***

तपाईको प्रतिक्रिया