शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं  – नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावका क्रममा उठाएका विकास योजनाको ठोस ढाँचा तयार गर्न कार्यदल गठन गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठकले सात वटै प्रदेशमा उठेका चुनावी एजेन्डालाई वाम सरकारका विकास योजना बनाउन भीम रावलको नेतृत्वमा पाँच सदस्यी कार्यदल बनाउने निर्णय गरेको हो ।

कार्यदलले नयाँ सरकार बन्नु अघि नै विकास योजनाको ढाँचा तयार गर्ने छ । कार्यदलको सदस्यमा पुर्वगभर्नर तथा अर्थविद युवराज खतिवडा, माअ‍ोवादी केन्द्रका नेता बर्षमान पुन लगायतका नेता पनि हुनुहुन्छ ।

यस्तै बैठकले यसअघि राम बहादुर थापा बादलको नेतृत्वले तयार पारेको राष्ट्रियसभाको चुनाव र प्रदेश सरकारमा सिट बाँडफाड सम्बन्धिको प्रतिवेदनलाई ग्रहण गरेको छ । यस्तै आजको बैठकले पार्टी एकताका लागि आन्तरिक छलफललाई थप तिब्रता दिने निर्णय गरेको छ ।

एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद र माओवादीले अगाल्दै आएको माओवादलाई संयोजन हुने गरी एकीकृत पार्टीको सैद्धान्तिक आधार तयार पार्ने विषयमा थप छलफल गर्ने पनि संयोजन समितिको बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया