बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा कामको सिलसिलामा मृत्यु हुने बिदेशी प्रशिक्षार्थी कामदारहरुको संख्या सन् २०१४ देखि २०१६ सम्ममा २२ जना पुगेको निक्केइ अनलाइनले जनाएको छ । जसमध्ये धेरैजसो कामको क्रममा दुर्घटना भएर र १ जना बढि कामका कारण मृत्यु भएको बताईएको छ । जापानी श्रम मन्त्रालयले पहिलो पटक यस्तो तथ्याङ्क सार्बजनिक गरेको हो । रोसाइ होकेन लागु हुने यस्तो घटना ३ बर्षमा ४ सय ७५ वटा भएको तथ्याङ्क छ । बिदेशी प्रशिक्षार्थी कामदारहरुले गर्न मिल्ने कामहरु सीमित भएपनि यति धेरै संख्यामा दुर्घटना हुँदा तुलनात्मक रुपमा समग्र भन्दा प्रशिक्षार्थी कामदारको मृत्यु संख्या बढि रहेको छ ।

उक्त अवधिमा जापानी सहित जापानभरिमा २ हजार ९ सय ५७ जना कामको क्रममा मृत्यु भएको श्रम मन्त्रालयले जनाएको छ । उक्त संख्या जम्मा कामदार संख्या १६ करोड ९६ लाख ४० हजारको अनुपातमा हेर्दा प्रति एक लाख १ दशमलव ७ जनाको पर्न आउँछ । तर बिदेशी प्रशिक्षार्थी कामदारको कुल संख्या २ लाख २८ हजार ५ सय ८९ जनाको अनुपातमा हेर्दा प्रति एकलाख ३ दशमलव ७ जनाको मृत्यु भएको पाईन्छ । सो तथ्याङ्कको आधारमा समग्र जापानको भन्दा प्रशिक्षार्थी कामदारको काममा मृत्यु हुनेको संख्या बढि रहेको पाईन्छ ।

बिदेशी प्रशिक्षार्थी कामदारहरुले कृषि, उत्पादन लगायत करीब ७० वटा क्षेत्रमा मात्र काम गर्ने भएपनि यो संख्या धेरै भएको बिश्लेषकहरु बताउँछन् । मानव अधिकारबादीहरुका अनुसार नयाँ ठाउँमा अर्थात बानी नपरेको स्थान, भाषा र सँस्कृतिको बिचमा काम गर्नुपर्दा बिदेशीहरुले समस्या भोग्नुपरेको हुन सक्ने बताईएको छ । साथै, काममा केहि समस्या हुँदा मुलुक फर्काइने घटनाहरु पनि सुन्नमा आएकोले श्रम मन्त्रालयको तथ्याङ्कमा नआएका घटनाहरु पनि हुनसक्ने समाचारमा जनाईएको छ ।***

तपाईको प्रतिक्रिया