बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – जापानमा रहेका युनिभर्सिटीहरु मध्ये सबैभन्दा बढि बिदेशी बिद्यार्थीहरु वासेदा युनिभर्सिटीमा अध्ययनरत रहेको तथ्य हालै सार्बजनिक गरिएको छ । जापान बिद्यार्थी सहयोग नियोग (जास्सो) ले बिदेश जाने जापानी बिद्यार्थी तथा जापान आउने बिदेशी बिद्यार्थीहरुको बारेमा एक सर्बेक्षण गरी हालै सार्बजनिक गरेको हो । जसअनुसार सन् २०१७ मे १ तारिखसम्ममा सबैभन्दा बढि बिदेशी बिद्यार्थी भर्ना लिने युनिभर्सिटीमा वासेदा युनिभर्सिटी परेको हो ।

जास्सोले सार्बजनिक गरेको तथ्याङ्क अनुसार जापानबाट बिदेश जाने बिद्यार्थीको संख्या सन् २०१६ मा ९६ हजार ६ सय ४१ जना भएको र सो संख्या अघिल्लो बर्षको तुलनामा १२ हजार १ सय ८५ जनाले बृद्धि भएको छ । जापानी बिद्यार्थीहरु बिशेष गरी अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकमा अध्ययनको लागि जाने गरेका छन् ।

त्यसैगरी, जापान आउने बिदेशी बिद्यार्थीको संख्या सन् २०१७ मे १ तारिखका दिनसम्म २ लाख ६७ हजार ४२ जना पुगेको छ । उक्त संख्या अघिल्लो बर्षको तुलनामा २७ हजार ७ सय ५५ जना अर्थात ११ दशमलव ६ प्रतिशत बृद्धि भएको हो । जसमध्ये सबैभन्दा बढि चिनियाँ बिद्यार्थीहरु १ लाख ७ हजार २ सय ६० जना छन् भने त्यसपछि भियतनामी ६१ हजार ६ सय ७१ जना, नेपाली २१ हजार ५ सय जनाको क्रममा रहेका छन् ।

यसरी जापान आउने बिद्यार्थीहरु मध्ये सबैभन्दा बढि अर्थात ५ हजार ४२ जना वासेदा युनिभर्सिटीमा अध्ययनरत छन् । त्यसैगरी बिदेशी बिद्यार्थीहरुको संख्याको आधारमा दोश्रो स्थानमा टोकियो फुकुसी युनिभर्सिटी ३ हजार ७ सय ३३ जना र तेश्रोमा टोकियो युनिभर्सिटी ३ हजार ६ सय १८ जना रहेका छन् । त्यसैगरी चौथो देखि दशौं स्थानसम्ममा क्रमशः निहोन केजाइ युनिभर्सिटी २ हजार ९ सय ८३ जना, रिचुमेइकान आजिया ताइहेइयो युनिभर्सिटी २ हजार ८ सय ४ जना, चुकुबा युनिभर्सिटी २ हजार ४ सय २६ जना, ओसाका युनिभर्सिटी २ हजार २ सय ७३ जना, क्युस्यु युनिभर्सिटी २ हजार २ सय १ जना, रिचुमेइकान युनिभर्सिटी २ हजार १ सय ४१ जना र क्योटो युनिभर्सिटी २ हजार १ सय ३४ जना रहेका छन् । स्मरण रहोस जापान सरकारले सन् २०२० सम्ममा ३ लाख बिदेशी बिद्यार्थी भित्र्याउने लक्ष्य राखेको छ ।***

तपाईको प्रतिक्रिया