शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – शरीरका कोष या कोषिकाको समूह अस्वाभाविक वृद्धि हुनु नै क्यान्सर हो । समयमै यसलाई निर्मूल गरिएन भने शरीरभर रोग फैलिन्छ र अन्ततः मृत्युको कारण बन्न पुग्छ । केही कुरामा ध्यान दिन सके हामी क्यान्सरबाट बच्न सक्छौँ । नेपालमा सबैभन्दा धेरै महिलामा पाठेघर र स्तन क्यान्सर तथा पुरुषमा पाचन प्रणालीमा क्यान्सर देखिने गरेको छ । अन्य क्यान्सरभन्दा पाचन प्रणालीको क्यान्सर बढी खतरनाक हुन्छ :

रोगको कारण
पाचन प्रणालीको क्यान्सर लाग्ने कारण सुर्तीजन्य पदार्थको सेवन, मद्यपान, सुपारीजन्य पदार्थ, रासायनिक पदार्थको प्रयोग गरिएका खानेकुरा खानु र जंकफुडमा जोड गर्नु हो । मुख राम्रोसँग सफा नगर्दा पनि हाम्रो पाचन प्रणालीमा असर पुग्न सक्छ । हामीले खाने असन्तुलित खानाले पनि पाचन प्रणालीमा असर गर्न सक्छ । हामीले खाने जंकफुड, अव्यवस्थित खानेकुरा तथा जीवनशैली आदि कारणले रोग लाग्ने गर्छ ।

बच्ने उपाय

डा. राजेन्द्र बराल क्यान्सररोग विशेषज्ञ

चिकित्सकका अनुसार क्यान्सर लाग्ने प्रमुख कारण मद्यपान र धूमपान नै हो । चिल्लो पदार्थ, ढुसी परेको तथा बासी खानेकुरा खाँदा पनि पाचन प्रणालीको क्यान्सर लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले, शाकाहारी तथा सन्तुलित भोजनमा बानी बसाल्नुपर्छ । खाने परिकारमा चर्को नुन नराख्ने, धुवाँमा सेकाएको मासु कम खाने, नियमित व्यायाम गर्ने, सरसफाइमा विशेष ध्यान दिने, नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्यो भने यो क्यान्सरबाट बच्न सकिन्छ ।

यो पनि
अध्ययनले देखाएअनुसार क्यान्सर हुने प्रमुख कारण मद्यपान र धूमपान हुन् । पाचन प्रणालीमा क्यान्सर हुने बिरामीमध्ये ९० प्रतिशतमा मद्यपान र धूमपान नै मुख्य कारण देखिएका छन् । पाठेघरको क्यान्सर र स्तन क्यान्सर पहिलो स्टेजमै थाहा भयो भने सजिलै निको हुन सक्छ, तर पाचन प्रणालीको क्यान्सर अलि जटिल हुन्छ ।

तपाईको प्रतिक्रिया