बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – प्रदेश नं २ को राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गरिने भएको छ । वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको संघर्ष समितिको आज बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

माघ ७ गते हुने वीरगञ्ज महानगरपालिकाको पहिलो नगर सभा उद्घाटनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आउने पूर्व निर्धारित कार्यक्रमलाई लक्षित गरेर संघर्ष समितिले यस्तो निर्णय गरेको हो । माघ ३ गते जनकपुरलाई अस्थायी राजधानी तोकेर वीरगञ्जप्रति कुठाराघात गरेको संघर्ष समितिको ठहर छ । बैठकले आन्दोलनलाई थप प्रभावकारी बनाउनका लागि गाउँ गाउँमा अभियान परिचालन गर्ने निर्णय समेत गरेको छ ।

संघर्ष समितिका सहसंयोजक एवं पूर्वसभासद राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गर्ने निर्णय गरेको कांग्रेसका युवा नेता अरविन्द गुप्ताले जानकारी दिनुभयो । त्यस्तै बैठकले आन्दोलनलाई सशक्त बनाउन माघ ८ गते सोमबार घण्टाघर स्थित अनशल स्थलमै सर्वपक्षीय अन्तरक्रिया र माघ १३ गते शनिबार आमसभा गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया