बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल कायम गरिनुपर्ने माग राख्दै २५ दिनदेखिको डोटीको आन्दोलनले जनजीवन पूर्णरुपमा प्रभावित भएको छ ।

सरकारले प्रदेशको राजधानी कैलालीको धनगढीमा तोकेसँगै डोटीमा आन्दोलन झनै चर्केको हो। आन्दोलनले उग्र रुप लिइसकेको छ । आज बिहानैदेखि आन्दोलनकारीहरु सडकमा उत्रिसकेका छन् । डोटीको आन्दोलनले गर्दा यस प्रदेशका सात वटै पहाडी जिल्लाहरुलाई प्रभावित तुल्याएको छ ।

डोटीको बुडर क्षेत्रमा भइरहेको आन्दोलन र यातायात बन्दले सातवटै पहाडी जिल्लामा यातायात सेवा चल्न सकिरहेको छैनन् । डोटी बाहेक अन्य जिल्लाहरुमा जिल्ला भित्रै स्थानीय रुपमा गाडीहरु चलिरहेका भएपनि बाहिरबाट आउने लामो दुरीका यातायातका साधनहरु पूर्ण रुपमा बन्द गरिएका छन् । बन्दका कारण सात वटा पहाडी जिल्लाका यात्रुहरु तराईका जिल्ला तथा राजधानीतिर जान र जिल्ला भित्रिन सकिरहेका छैनन् ।

डोटीको बुडर क्षेत्रको बिहीबार बेलुकादेखिको आन्दोलन तथा यातायात बन्दले सातवटै जिल्लामा खाद्यान्न तथा अन्य उपभोग्यका सामानहरु आपूर्ति हुन सकेको छैन । लगातार २५ दिनदेखिको आमहड्ताले गर्दा जनजीवन प्रभावित बनेको हो । पूर्णरुपमा आमहड्ताल गरिएको छ । यातायात, बजार, कलकारखाना, विद्यालय, कार्यालय पूर्णरुपमा बन्द भएका छन् । डोटीमा क्रियाशील राजनीतिक दल, नीजि क्षेत्र, नागरिक समाज लगायत सम्पूर्ण निकायको सहभागितामा आन्दोलन छ ।

आन्दोलनकारीहरुले डोटीमा रहेका क्षेत्रीय तथा जिल्लास्थित सरकारी कार्यालयहरुका बोर्डहरु हटाएका छन् भने कार्यालयहरुमा कालो झण्डा गाडिएको छ । केही कार्यालयका झ्यालका सिसा तथा सुझाबपेटिका, सूचना बोर्ड तोडफोड समेत गरेका छन् । आन्दोलनकारीहरुको आक्रोशित भीडले सिलगढीस्थित जिल्ला हुलाक कार्यालय र जिल्ला कृषि विकास कार्यालयमा आगो लगाइदिएका छन् । आन्दोलनकारीले लगाएको आगोबाट कार्यालयमा केही क्षति पुगेको छ भने कागजातहरु जलेर नष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया