बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – सबैको बानी नै बनेको छ, बजारबाट केही फल या तरकारी ल्याएपछि फ्रिजमा राखिदिने । मान्यता छ कि फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ । जानिराख्नुहोस्, यी चिज फ्रिजमा नराखेकै राम्रो हुन्छ :

ब्रेड
त्यसो त ब्रेड तयार भएको दुई या तीन दिनभित्र खानुपर्छ । तर, पिज्जा ब्रेड, बर्गर ब्रेडलगायत केही दिन सुरक्षित राख्न चाहने हो भने फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा ब्रेड सुक्खा हुन्छ । प्लास्टिकमा बेरेर फ्रिजरमा मात्रै भने राख्न सकिन्छ । तर, खानुअघि फ्रिजरबाट निकालेर केही बेर बाहिरी वातावरणमा राख्नु राम्रो हुन्छ ।

गोलभेँडा
अधिकांशलाई लाग्छ, गोलभेँडा फ्रिजमा राखे लामो समयसम्म सुरक्षित हुन्छ । तर, यो गलत धारणा हो । गोलभेँडा गर्मी वातावरणमा फल्ने फल हो । यो तरकारी होइन फल हो, जसलाई धेरै पानी र घाम आवश्यक पर्छ । चिसो मौसममा यो राम्रोसँग फल्न सक्दैन । यस्तै, फ्रिजमा राख्दा पनि यो झन् छिटो गल्छ र बिग्रिन्छ ।

केरा
केरा पनि फ्रिजमा राख्दा छिटो–छिटो काला धब्बाहरू निस्किन्छ । चिसो राखेको केराबाट इथाइलिन नामको ग्यास निस्किन्छ, जसले आसपासमा राखेको फलफूललाई पनि छिटै गलाइदिन्छ । त्यसैले यस्तो समस्याबाट बँच्नका लागि भने केरालाई प्लास्टिकमा बेरेर फ्रिजमा राख्न सकिन्छ ।

मह
फ्रिजमा मह भुलेर पनि नराख्नुहोस् । फ्रिजमा राखेपछि महको गाढापन र वास्तविक स्वाद परिवर्तन हुन थाल्छ । फ्रिजबाहिर राखेरै मह लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

कागती-सुन्तला
अधिकांशको भान्सामा कागती पनि फ्रिजभित्र राखेको देखिन्छ । कागती, सुन्तला, अमिलोजस्ता फल फ्रिजको चिसोमा राख्दा बोक्रामा चाँडै दाग देखिन्छ र बिग्रिन थाल्छ । फ्रिजमा राख्दा स्वाद पनि बिग्रिन्छ भने रस पनि सुक्छ ।

स्याउ
स्याउ पनि फ्रिजमा नराख्नु नै उत्तम हुन्छ । फ्रिजमा राख्ने नै भए पहिले कागजमा बेरेर तरकारी राख्न बनाइएको सेल्फमाथि व्यवस्थापन गर्नुपर्छ । बियाँ भएका फलफूलहरू आरु, आरुबखडा, चेरीलगायत पनि फ्रिजमा नराख्नुहोस् । कम तापक्रममा राख्दा यी फलफूलमा एन्जाइम सक्रिय हुन्छ र छिट्टै गल्न थाल्छ ।

काँक्रो
काँक्रो पनि धेरैले फ्रिजमै राख्ने गर्छन् । प्रायः गर्मी मौसममा फ्रिजमा राखेको चिसो काँक्रो खाने मन
धेरैलाई हुन्छ । तर, दुई–तीन दिनभन्दा ज्यादा फ्रिजमा टिक्दैन । काँक्रोलाई फ्रिजबाहिरै राख्नुहोस्, तर  इथाइलिन ग्यास छाड्ने केरा र गोलभेँडाबाट अलग ।

तरबुजा
काटेपछि तरबुजा र खरबुजा फ्रिजमा राख्न सक्रिन्छ तर सिंगो दानालाई कहिल्यै फ्रिजमा नराख्नुहोस् । यो फलमा अत्यधिक एन्टिअक्सिडेन्ट हुन्छ, जुन फ्रिजमा राखेपछि बिग्रिन्छ । काँक्रो, तरबुजा र खरबुजा खानुअघि एकैछिन भने चिसो बनाउनका लागि मात्रै फ्रिजमा राख्न सकिन्छ ।

आलु
फ्रिजमा राखेपछि आलुका स्टार्च चिनीमा बदलिन्छ र स्वादमै असर पर्छ । आलुलाई घाम र धेरै चिसो दुवैबाट टाढा राख्नुपर्छ । सुक्खा ठाउँमा हावा खेल्न पाउने गरी राख्नुपर्छ । आलुका लागि ४५ डिग्री सेल्सियसको तापक्रम सबैभन्दा राम्रो हो ।

प्याज
कतिपय व्यक्ति ठान्छन् कि प्याजलाई फ्रिजभन्दा टाढा राख्नुको कारण, त्यसबाट निस्किने एक प्रकारको गन्ध नै हो । तर, आलुजस्तै प्याज पनि फ्रिजमा राख्दा स्वादमै फरक पर्छ । फ्रिजमा राखेपछि नराम्रोसँग गल्छ । प्याजलाई पनि सुक्खा र अँध्यारो ठाउँमा राख्नु उत्तम हुन्छ । तर, कहिल्यै पनि आलु र प्याज सँगै भने नराख्नुहोस् । आलुबाट निस्किने ग्यासले प्याजमा खराबी निम्त्याउँछ ।

लसुन
लसुन पनि फ्रिजमा नराख्नुहोस् । फ्रिजमा राख्दा लसुन अंकुराउन थाल्छ । बाहिर लसुन र प्याज सँगै राख्न भने सकिन्छ ।

जैतुनको तेल
जैतुनको तेल (ओलिभ आयल) खान मात्रै होइन, कपाल र शरीरमा प्रयोग गर्न खरिद गरिन्छ । तर, यसलाई कहिल्यै फ्रिजमा राख्नु हुँदैन । कम तापक्रममा राख्दा यस्तो प्राकृतिक गुण नष्ट हुन्छ । सूर्यको प्रकाश, ग्यास स्टोभको आसपासमा पनि यसलाई राख्नु हुन्न ।

तपाईको प्रतिक्रिया