निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेशसभाको परिणाम बुझायो

काठमाडौं – निर्वाचन आयोगले सातवटै प्रदेशसभाको सम्पूर्ण परिणाम छुट्टा छुट्टै सात प्रमुखलाई आज बुझाएको छ । प्रदेश प्रमुखहरुले शितल निवासमा राष्ट्रपतिबाट सपथ लिएलगत्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभा निर्वाचन प्रतिवेदन बुझाउनुभएको हो ।

आयोग पदाधिकारीहरु उक्त प्रतिवेदन बुझाउन शितल निवास पुगेका थिए । त्यसअघि आयोग परिसरमा आयोजित कार्यक्रममा यादवले समानुपातिकबाट विजयी भएकाहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्ति गरेपछि आयोगले सोही दिन प्रदेशसभाको समानुपातिक तर्फको परिणाम सार्वजनिक गरेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएका २ सय २० जनामा ४८ जना पुरुष तथा १ सय ७२ जना महिला रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकबाट ७८ प्रतिशत महिला चुनिएकी छन् । प्रत्यक्षको कुल ३ सय ३० निर्वाचन क्षेत्रमध्ये १७ क्षेत्रबाट महिला निर्वाचित भएका छन् ।

प्रदेशसभामा दलगत रुपमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक प्रावधानका कारण नपुग संख्या पुर्‍याउन दलहरुले पाएको समानुपातिक सिटमा महिलाको संख्या बढाइएको हो । निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचितहरुलाई शुक्रबार प्रमाणपत्र वितरण गरेको छ ।

समानुपातिकबाट आदिवासी जनजाति ६९, खस आर्य ६६, मधेशी ३७, दलित २९, थारु १२ र मुसलमान समूदायका ७ जना विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित