सात प्रदेशका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लिए शपथ

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपतिबाट सात प्रदेशका नवनियुक्त प्रमुखहरुले शपथ ग्रहण गर्नुभएको हो ।

सरकारले प्रदेश नम्बर १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । विहीबार सार्वजनिक विदा परेकाले प्रदेश प्रमुखको शपथ आज गराइएको हो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली लगायतको उपस्थिति थियो ।

नेपालको इतिहासमा पहिलो पटक प्रदेश प्रमुख बनेका उनीहरुलाइ राष्ट्रपति कार्यालयको प्रभाष हलमा सपथ गराइएको थियो। सो हल राष्ट्रपति भवनको सबैभन्दा महत्वपूर्ण हल मानिन्छ । संविधानको धारा १ सय ६७ बमोजिम प्रदेशका नवनियुक्त प्रमुखहरुले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित