ओली-प्रचण्डबीच तीन घण्टा लामो छलफल, के भयो कुराकानी ?

कार्यदलको रिपोर्ट अनुमोदन

काठमाडाैं – एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभाको उम्मेदवार बाँडफाँट सम्बन्धि कार्यदलको प्रस्तावलाई अनुमोदन गरेका छन् ।

अब राष्ट्रिय सभा चुनावमा वाम गठबन्धनका तर्फबाट ४३ जना उम्मेद्वार हुनेछन् । त्यसमा एमालेका २९ र माओवादीका १४ जना रहनेछन् । उम्मेदवारको मापदण्ड तयार गर्ने लगायतका बिषयमा गृहकार्य गर्न बनेको कार्यदलले दुबै अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रतिवेदनलाई दुई अध्यक्षले आज तीन घण्टा बालकोटमा बसेर अध्ययन गरेका थिए । ओली र दाहालबीच ‘वान टु वान’ कुराकानी भएको हो ।

दुई दलबीच राष्ट्रिय सभा चुनावमा ६७ र ३३ प्रतिशतको भागबन्डा भएको छ । यसअघि प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा दुई दलले ६० र ४० प्रतिशत भागबन्डा गरेका थिए। अब ३० दिन भित्र प्रदेश सरकार पनि गठन गर्नुपर्ने भएकाले त्यसको पनि गृहकार्य गर्ने समझदारी दुई अध्यक्षबीच भएको ओलीको भनाई उदृत गर्दै उहाँका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।

प्रदेश सरकारको बिषयमा पनि कार्यादलले प्रारम्भिक प्रस्ताव तयार गर्नेछ । आजको भेटमा पार्टी एकता प्रक्रियालाई पनि छिटो अघि बढाउने र त्यसका लागि आइतबार एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको समेत प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो । एकता संयोजन समितिको बैठक अघि शनिबार (भोलि) दुई अध्यक्षले केही गृहकार्य गर्नेछन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित