उपराष्ट्रपति पुनसँग अस्ट्रेलिया र श्रीलंकाका राजदूतको भेट

काठमाडाैं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अस्ट्रेलिया र श्रीलंकाका राजदूतले शिष्टाचार भेट गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा आज अपराह्न उपराष्ट्रपतिसँग अस्ट्रेलियाका राजदूत पिटर बड र श्रीलंकाका राजदूत डब्लु. एस. परेराले छुट्टा–छुट्टै शिष्टाचार भेट गरेका उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले दुवै राजदूतसँगको भेटमा नेपालको बढ्दो व्यापार घाटा कम गर्न सहकार्यको क्षेत्रलाई फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले अस्ट्रेलियाका राजदूतसँगको भेटमा अस्ट्रेलियासँग नेपालको साढे चार अर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै नेपालको निर्यात वृद्धिका लागि अस्ट्रेलिया सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उपराष्ट्रपतिले ५७ वर्षपछि पहिले औपचारिक रुपमा स्थापित नेपाल र अस्ट्रेलियाको सम्बन्ध अहिले सांस्कृतिक, सामाजिक हुँदै जनस्तरसम्म प्रगाढ बनेको बताउनुभयो ।

अस्ट्रेलियाका राजदूत पिटर बडले विश्वकै सुन्दर देश नेपालसँगको सम्बन्धलाई आफ्नो देशले अझै बलियो बनाउन चाहेको बताउनुभयो । श्रीलंकाका राजदूतसँगको भेटमा उपराष्ट्रपतिले राष्ट्रपतिको छिट्टै नेपाल भ्रमण हुने आशा गर्दै स्वागत गर्ननेपाली जनता आतुर रहेको बताउनुभएको थियो । राजदूत परेराले आफ्नो देशका राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध घनिष्ठ रहेको र श्रीलंकाका राष्ट्रपतिको भ्रमणपछि झनै घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित