बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

महोत्तरी – प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ । मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र बिच्छालगायतका परिवारलाई सिरक प्रदान गर्नुभएको हो ।

भेटमा शहीद रामविवेककी आमा इन्दोदेवीले आफ्नो सहारा एकमात्र छोरो गुम्दा घरपरिवार सञ्चालनमा निकै कठिनाइ भएको पिडा सुनाउनुभयो । बस्ने घर जीर्ण भएको र मर्मत गर्नसमेत नसकेकाले उहाँले सहयोगको अपेक्षा पनि गर्नुभयो ।

त्यस्तै जलेश्वर नगरपालिका–१४ का शहीद अमित कापरका घरपरिवारले पनि कमाइ गर्ने अविभावक नै नहुँदा घर धान्न मुस्किल भएको बताए । जलेश्वर नगरपालिका–८ का जिउँदा शहीद नगेन्द्र साहले आजसम्म डा यादवबाहेक कुनैपनि नेताले आफ्ने अवस्थासमेत हेर्न नआएको दुःखेसो गर्दै उहाँले पुर्याउनुभएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
अहिले साहले एउटा सानो किराना पसल खोलेर गुजारा चलाउँदै हुनुहुन्छ । पाखुर नचल्दा कुनै पनि गहु्रङ्गो काम गर्न समस्या हुने गरेको उहाँको भनाइ छ ।

शहीद परिवारसँग भेटघाटपश्चात् यादवले अब बन्ने प्रदेश सरकारबाट शहीद परिवारको समस्या स्थायीरुपमै समाधानका लागि पहल गर्ने र रोजगारीको अवसर प्रदान गर्नेतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले महोत्तरीपछि धनुषाका शहीद घरपरिवारमा पुग्ने यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया