शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ –  नेपाल तरुण दलले केन्द्रीय समिति विस्तार गर्न पार्टीसँग माग गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन भएको १६ महिना वित्दा पनि तरुण दलको केन्द्रीय समिति चाँडो विस्तार गर्न पार्टीलाई आग्रह गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले संगठन निर्माणमा तरुणलाई व्यापक परिचालन गर्ने निर्णय गरेको दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।

बैठकले महिनाको अन्तिममा देशभरका तरुण अध्यक्षको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । त्यस्तै शीतलहर र भाइरलको ज्वरोबाट पीडित जनतालाई राहत र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको महासचिव शाहीले बताउनुभयो ।

सांस्कृतिक संघलाई भ्रातृ संस्थाको रुपमा मान्यता दिन माग 

यसैबीच नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले आफ्नो संघलाई भ्रातृ संस्थाको रुपमा मान्यता दिनुपर्ने माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका सभापति तीर्थ थापासहितको टोलीले आज सभापति देउवालाई प्रधानमन्त्री निवास वालुवाटारमा भेटेर संघको दोस्रो अधिवेशनले पारित गरेअनुसार शुभेच्छुक संस्थाको रुपमा रहेको संघलाई भ्रातृ संस्था बनाउनुपर्ने माग गरेको हो ।

राज्यले सांस्कृतिक क्षेत्रमा दिने सम्मान, पुरस्कार, नियुक्ति, सुरक्षा र पदवी संघको सहभागिता दिलाउने, पार्टी संगठनका सबै तह र निकायमा संघको प्रतिनिधित्व गर्नुपर्ने, प्रत्येक निर्वाचन क्षेत्रबाट संघको एकजना महाधिवेशन प्रतिनिधि आउन पाउने व्यवस्था मिलाउन माग गरेको छ ।

तपाईको प्रतिक्रिया