शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया जाने कामदारको तलब वृद्धि भएको छ । अब दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले न्यूनतम मासिक १ लाख ४२ हजार रुपैयाँ (१५ लाख ७३ हजार ७ सय ७० वन ) भन्दा बढी तलब पाउने भएका छन् । यसरी वृद्धि भएको तलब यही जनवरीदेखि लागू हुनेछ ।

गत वर्ष कोरियन सरकारले सन् २०१८ को जनवरीदेखि लागू हुने गरी कामदारको ज्याला १६ दशमलव ४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरूप अहिले कामदारको न्यूनतम तलब एवं पारिश्रमिक वृद्धि भएको हो । कोरियन सरकारले गरेको कामदारको न्यूनतम तलब वृद्धिलाई दक्षिण कोरियामा कार्यरत मजदुरहरूले ऐतिहासिक वृद्धि भनेका छन् ।

जसअनुसार कामदारले प्रतिघण्टा ७ हजार ५३० कोरियन बोन पाउनेछन् । जुन गत डिसेम्बरको तुलनामा १ हजार ६० वोन एवं १ सय १ रुपैयाँ ५५ पैसाले बढी हो । त्यहाँका कामदार मजदुरप्रति निकै उदार मानिने कोरियाका वर्तमान राष्ट्रपति मुन जे इनले सन् २०२२ सम्म तलब प्रतिघण्टा १० हजार वोन (करिब ९ सय ५८ रुपैयाँ) पुर्याउने बताएका छन् । यो तलब युरोपियन मापदण्ड अनुरूप हुने बताइएको छ । तर, दक्षिण कोरियाका मजदुर संगठन र प्रवासी मजदुर संगठनले अहिले नै प्रतिघण्टा १० हजार वोन हुनुपर्ने माग राख्दै आइरहेका छन् ।

अहिले त्यहाँका रोजगारदाता कम्पनीहरूले कामदारलाई दिने तलब वृद्धिले आफ्नो कम्पनीको आर्थिक भार बढ्नुका साथै कम्पनी धरासायी हुने भन्दै यस तलब वृद्धिको विरोधसमेत गरेका छन् ।

त्यस्ता रोजगारदाता कम्पनीहरूको गुनासो सुनेपछि अहिले सम्भावित साना उद्योग र मझौला कम्पनी धरासायी हुने सम्भावनालाई ध्यानमा राखी सरकारले तीसभन्दा कम कामदार भएका कम्पनीलाई अनुदान दिने निर्णय गरेको छ । यसैगरी, आवास र खानाको कटौती गर्ने अधिकार पनि कम्पनीलाई दिएको छ ।

दक्षिण कोरियामा साना तथा मझौला कम्पनीमा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत आएका नेपाली कामदार कार्यरत छन् । तलब वृद्धिको खुसीसँगै कामदारमा कम्पनीले आवास र खानाको नाममा तलब कटौती गर्ने आशंकाले केही कामदालाई केही हानि पनि पुर्याएको छ ।

दक्षिण कोरियामा कृषि, मत्स्य, साना तथा मझौला कम्पनीमा करिब ५० हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन । यसैगरी, रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अहिलेसम्म गएका उत्पादनमूलक कम्पनीहरू र कृषि क्षेत्रमा कार्यरत कामदारहरू पनि लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया