शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – राष्ट्रिय सभा निर्वाचनका लागि सिट फाँडफाँट लगायतका विषय टुंग्याउन वाम गठबन्धनले बनाएको कार्यदलको बैठक बस्दैछ ।

अहिले केहीबेरमा सिंहदरबारमा बस्ने बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने विषयमा छलफल हुने कार्यदलमा रहेका माओवादी केन्द्रका नेता मात्रिका यादवले जानकारी दिनुभयो । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माघ १० गते मनोनयन दर्ता र माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

मनोनयनको मिति नजिकिँदै जाँदा वाम गठबन्धनको कार्यदलले एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने गरी काम थालेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित पार्टी एकता संयोजन समितिले गत पुस २५ गते कार्यदल गठन गरेको थियो ।

कार्यदलले राष्ट्रियसभासहित प्रदेशसभाका सभामुख, उपसभामुख र प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरूको पद बाँडफाँट गर्नेछ । कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन्।

तपाईको प्रतिक्रिया